खोटाङ, २६ फागुन । नेकपा एमालेका सचिव भीम आचार्यले देशको विकास र जनताको समृद्धि पार्टीको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

एमाले दिक्तेल नगर कमिटिको प्रथम अधिवेशन उद्घाटन गर्न खोटाङ आउनुभएका सचिव आचार्यले देशको विकास र जनताको समृद्धिका लागि पार्टीले गुरु योजना बनाएर अगाडि बढ्ने तयारी गरिरहेको जानकारी दिनुभयो । “एमाले पार्टी अब राजनीतिक झगडामा अल्मलिँदैन ।” पूर्वाञ्चल ईन्चार्ज समेत रहनुभएका सचिव आचार्यले भन्नुभयो, “राजनीतिक झगडाले देश निक्कै पछाडि परेको छ, यसलाई उकास्नका लागि राजनीतिक स्वार्थबाट सबै दल माथि उठ्नुपर्ने अवस्था आएको छ ।”

पूर्व पर्यटनमन्त्री समेत रहनुभएका सचिव आचार्यले संविधान जारी भइसकेको अवस्थामा राजनीतिक झगडा गर्नुको कुनै औचित्य नभएको दाबी गर्नुभयो । संविधान कार्यान्वयन गर्दै देशको विकास र जनताको समद्धिका लागि सबै राजनीतिक दल एकजुट हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

आगामी चैत ७ गतेबाट हुने प्रधानमन्त्रीको चिन भ्रमण पनि यसैमा केन्द्रित हुने आचार्यले जानकारी दिनुभयो । “प्रधानमन्त्रीको चिन भ्रमण देशको विकास र जनताको समृद्धिमा केन्द्रित हुन्छ ।” उहाँले भन्नुभयो, “भ्रमणका क्रममा पारवहन, व्यापार, उत्तरी नाका खुला लगायतका विषयमा सम्झौता समेत हुनेछ ।”

पत्रकार सम्मेलनमा बोल्दै अर्का सचिव योगेश भट्टराईले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेको बताउनुभएको छ । “संविधान राष्ट्रिय एजेण्डा भएकाले यसको कार्यन्वयनमा सबै दल एकजुट हुनुपर्ने अवस्था छ ।” उहाँले भन्नुभयो, “यसका लागि एमालेकै नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बन्छ ।”

एमाले खोटाङको पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य तथा जन साँस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष खगेन्द्र राई,  एमालेका बैकल्पिक सदस्य तथा सांसद विशाल भट्टराई, बैकल्पिक केन्द्रीय सदस्य राजन राई, सांसद पाँचकर्ण राई लगायतको उपस्थिति रहेको थियो ।