खोटाङ, १ चैत्र । जिल्लाको पश्चिमी गाविस च्यास्मिटार र बाहुनीडाँडामा जडान गरिएको सौर्य लघु मिनीग्रीड परियोजना उद्घाटन गरिएको छ । जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले सोमबार दुवै ठाउँमा जडान गरिएको लघु मिनीग्रीड परियोजना रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

परियोजना उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री पासवानले मुलुकलाई लोडसेडिङमुक्त गर्ने सरकारको अभियान अन्तरगत प्रत्येक प्रदेशमा सौर्य उर्जाको कार्यालय स्थापना गर्ने तयारी गरिरहेको बताउनुभयो । “मुलुकलाई लोडसेडिङमुक्त गर्न सरकारले विशेष अभियान सञ्चालन गरिरहेको छ ।” उहाँले भन्नुभयो, “यसका लागि प्रत्येक प्रदेशमा सौर्य उर्जाको कार्यालय स्थापना गरेर काम अगाडि बढाउने तयारी गरिएको छ ।”

विभिन्न दातृ निकायको आर्थिक सहयोग तथा हलेसी सोलार मिनीग्रिट कम्पनी प्रालिको पहलमा बाहुनीडाँडा, च्यास्मिटार र हर्कपुरमा सौर्य लघु मिनीग्रीड सञ्चालनमा ल्याइएको आयोजनाका प्रमुख ईन्जिनियर जीवन वैद्यले जानकारी दिनुभयो । ईन्जिनियर श्रेष्ठका अनुसार च्यास्मिटारमा २०, बाहुनीडाँडामा २२, आखलढुङ्गाको हर्कपुरमा ३१ किलोवाट क्षमताको सौर्य उर्जा उत्पादन गरिएको छ ।

स्थानीय उपभोक्ताको श्रमदान तथा दातृ निकाएको ऋण लगानीमा सञ्चालित सौर्य उर्जाले बाहुनीडाँडा–२ र ३ मा पर्ने कदुवाका ६७ र च्यास्मिटार–५ को २५ घरमा बत्ती बालिएको छ । सौर्य उर्जाबाट च्यास्मिटारमा एक वटा राईस मिल र एक वटा कम्प्युटर सेन्टर तथा एक वटा एनसेल टावर सञ्चालन गरिएको छ ।

सौर्य उर्जा सञ्चालन भएपछि बाहुनीडाँडा र च्यास्मिटारका साथै ओखलढुङ्गाको हर्कपुरका स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । सौर्य उर्जाबाट चौबीसै घण्टा विद्युत उपभोग गर्न पाइने भएपछि स्थानीय उपभोक्ता हर्षित भएका च्यास्मिटार ग्रीड निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश अधिकारीले बताउनुभयो ।

परियोजना उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सौर्य उर्जाको उपयोगिताको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, एसियाली विकास बैंकका प्रतिनिधि जीवन आचार्य, विनरक इन्टरनेशनलका निर्देशक विनोद श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

मन्त्री पासवानले यसअघि आइतबार ओखलढुङ्गाको हर्कपुरमा ३१ किलोवाट क्षमताको ग्रीड उद्घाटन गर्नुभएको थियो । मध्य पहाडी लोकमार्गमा पर्ने हर्कपुरमा सञ्चालित ग्रीडबाट ११३ घरका उपभोक्ता लाभान्वीत भएका छन् ।

तीनवटै ठाउँमा सञ्चालन गरिएको परियोजनामा एसियाली विकास बैंक, डिओइएन फाउण्डेसन र एनएमबि बैंकको ऋण लगानी छ ।