खोटाङ, १ असोज । खोटाङमा विगत तीन वर्षको अवधीमा १७५ जनाले आत्महत्या गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको तथ्याङ्कलाई उदृत गर्दै राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले आ.व. २०७५/०७६ देखि आ.व. २०७७/०७८ सम्म तीन वर्षमा खोटाङ जिल्लामा पुरुष १०३, महिला ५१, बालक १४ र बालिका ७ जनाबाट आत्महत्या भएको जनाएको छ ।

आयोगले खोटाङ जिल्लामा विकराल रुपमा बढ्दै गएको आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि भूमिका निर्वाह गर्न भन्दै जिल्ला समन्वय समिति खोटाङ मार्फत स्थानीयतहहरू, जिल्ला स्वास्थ्यकार्यालय मार्फत स्वास्थ्य संघसंस्थाहरू, शिक्षाविकास तथा समन्वय इकाई मार्फत शिक्षण संघसंस्थाहरू, जिल्ला प्रशासनकार्यालय, जिल्ला प्रहरी कार्यालय, खोटाङ जिल्ला अदालतबार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्थामहासंघलाई पत्राचार गरेको छ ।

विश्व आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० को अवसरमा भदौ २५ गते दिक्तेलमा आयोजित ‘आत्महत्या रोकथाममा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यव्रmममा भएको छलफलको आधारमा पत्राचार गरिएको आयोगले जनाएको छ ।

पत्रमा आत्महत्या रोकथाम र न्यूनिकरणको लागि पालिकाहरूलाई दश, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र पेशागत संघसंगठनहरूलाई आठ/आठ र शैक्षिक संघसंस्थाहरूलाई पाँच बुँदामा ती निकायहरूबाट खेल्न सक्ने भूमिकाको बारेमा उल्लेख गरिएको छ ।