खोटाङ १ असोज । काठमाडौंबाट ओखलढुंगा, सोलुखुम्बु, खोटाङ लगायत स्थानमा जाँदा सुनकोसी पुल कट्ने बित्तिकै घुर्मी बजार पुगिन्छ । त्यहीँ घुर्मी बजारमा अवस्थित अमिसा होटलले यातायातका साधनमा सवार गर्ने यात्रुहरुलाई खानामा साँग्ला, झिँगाको खुट्टा समेत खुवाउने गरेको रहस्य खुलेको छ ।
असिमा होटलले सरसफाईमा ध्यान नदिने तर यात्रुहरुको पैसा असुल्नेमा मात्र केन्द्रित हुँदा खानामा कहिले झिँगा भेटिने गरेको हो भने कहिले साँग्ला तथा फट्यांग्राहाको खुट्टा फेला पर्ने गरेको हो ।

केही दिन अगाडी खोटाङ यातायातको काठमाडौंबाट छुटेको एउटा बसले राती १० बजेको समयमा घुर्मीको अमिसा होटलमा खाना खुवाएको थियो । त्यसबेला उक्त होटलमा कुखुराको मासुमा साँग्लाको खुट्टा फेला परेको थियो ।

ती यात्रुले होटल सञ्चालकलाई के हो भनेर देखाउँदा हतार हतार खाना उठाएर लगेको र आफ्नो गल्ती बाहिर नआओस् भनेर अर्को खाना खान आग्रह गरेको ती यात्रुले हाम्रोखोटाङ डटकमलाई बताए ।

सोही बसमा यात्रा गर्ने अर्का यात्रुले भने खानासमेत बासी भएको आशंका गरेका छन् । ‘मैले खाना खाने बित्तिकै पेटमा गडबढ भयो, त्यो होटलले बासी खाना खुवाए जस्तो लागेको छ ।’ उनले भने ।

अमिसा होटलले विभिन्न बसका चालक तथा सहचालकलाई हातमा लिएर आफ्नै होटलमा खाना खुवाउन ल्याउने गरेको र चालक तथा सहचालकले पनि प्रलोभनमा परेर त्यहीँ खाना खुवाउन लग्ने गरेको बताइएको छ । घुर्मी बजार सदरमुकामबाट टाढा हुँदा पनि प्रशासनले बेला बखत अनुगमन नगर्ने गरेको र व्यवसायीहरुले मनोमानी गर्ने गरेको पाइएको छ ।