खोटाङ, २८ भदौ । दिक्तेल बजारमा प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय स्थापना गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको सङ्गठन प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय दिक्तेल बजारस्थित तल्लो हेलिप्याड नजिकै रहेको भाडाको घरमा सोमबार स्थापना गरिएको हो ।

प्रेस सङ्गठनको कार्यालय नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् १ नं. प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभयो । जिल्लामा सङ्गठितरुपमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सङ्गठन नेपाल क्रियाशील रहेपनि प्रेस सङ्गठन नेपालले मात्र औपचारिकरुपमा छुट्टै कार्यालय स्थापना गरेको हो ।

सङ्गठनको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि पासाङले सत्य, तथ्य र निष्पक्ष भएर न्यायको पक्षमा कमल चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । “तपाईहरुले चलाउने कलमले जनताको अधिकारलाई सुनिश्चित गर्छ”, उहाँले भन्नुभयो, “पत्रकार सँधै न्यायको पक्षमा उभिनुपर्छ । हाम्रो पार्टी निकट पत्रकार सङ्गठन भएपनि हामीले गरेको कमजोरीलाई औल्याइ दिनुपर्छ ।”

कार्यालय उद्घाटन कार्यक्रममा माओवादी केन्द्र खोटाङको जिल्ला समन्वय समिति संयोजक देवान किराँती ‘पृथ्वी’ले पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र विकासका निम्ति खबरदारी गर्न आग्रह गर्नुभयो । “सकारात्मक कुरालाई स्थापित गर्न पत्रकारको महत्वपूर्ण भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “जिल्लामा समेत शीर्षक एउटा दिएर अर्को समाचार लेख्ने प्रचलन बढ्दै गएको देखिन्छ । यसले समाजमा गलत प्रभाव पारेको छ । आगामी दिनमा गम्भीरताका साथ ध्यान दिएर कलम चलाउनुपर्ने अवस्था आएको छ ।”

सङ्गठनका केन्द्रीय सदस्य भीम राईले पत्रकारसँग राजनीतिक विचार हुने तर, राजनीतिक आस्थाकै आधारमा समाचार लेख्न नहुने बताउनुभयो । “कुनै पनि पत्रकारले राजनीतिक आस्थाको आधारमा समाचार लेख्न हुँदैन”, उहाँले भन्नुभयो, “राजनीतिक दलका नेताहरुले गरेका राम्रा र नराम्रा दुवै गतिविहरुको बारेमा निष्पक्ष भएर समाचार लेख्नुपर्छ । यसले मात्रै हामीले चाहेजस्तो समाज परिवर्तन हुन्छ ।”

सङ्गठनले कार्यालय स्थापना गरेर क्रियाकलाप अगाडि बढाएकोमा नेपाल पत्रकार महासङ्घ खोटाङका जिल्ला अध्यक्ष दिलीप खत्री, महासङ्घका पूर्व अध्यक्ष एवम् सङ्गठनका सल्लाहकार डम्बरसिं राई, महासङ्घका पूर्व अध्यक्ष दमन राई लगायतले शुभकामना दिनुभएको छ । सङ्गठनका जिल्ला अध्यक्ष रामधन राईले पत्रकारिताको व्यवसायिक विकासका लागि जिल्लास्थित सबै पत्रकार सङ्घ÷सङगठनसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

प्रेस सङ्गठनको कार्यालयमा जिल्लास्थित सबै पत्रकार उपस्थित भएर काम गर्ने वातावरण मिलाइएको सचिव सविना अछामेले जानकारी दिनुभयो । कार्यालय उद्घाटन कार्यक्रममा माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका सह–इन्चार्ज होमकाजी आचार्य ‘विनोद’, नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका प्रतिनिधि तथा जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो । रासस