तजिना मगर/खोटाङ
भदौ–२७,  हाल नेपालमा राष्ट्रिय चर्चा तथा चर्को बहसमा आएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) खोटाङले राष्ट्रको हीत बिपरित ठहर गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी )को भदौ २६ गते सम्पन्न जिल्ला भेलाले जिल्लामा एमसीसी सम्झौता बिपरित छलफल तथा बहस गर्ने निर्णय सार्वजानिक गरेको हो ।

अग्रगमनका पक्षधर संगठनहरुसँग समन्वय गर्दै एमसीसी सम्झौता राष्ट्र हीतविपरित छ भन्ने छलफल तथा बहस चलाउने संगठनको निर्णयमा उल्लेख छ । संगठनको १८ औं जिल्ला सम्मेलन आायोजक समिति समेत चयन गरेको जिल्ला कमिटिले भदौ २७ गते दिक्तेलवजारमा पत्रकार सम्मेलन गरी उक्त निर्णय सार्वजानिक गरेको हो । डीआर खड्काको संयोजकत्वमा गठित आयोजक समितिले जिल्लास्थित माबि क्याम्पस लगायतका सम्पूर्ण शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक तथा प्राध्यापकहरुसँग छलफल गर्ने कार्ययोजना बनाईएको जनाएका छन् ।

विद्यार्थी सगठनले पार्टी नेतृत्वलाई समेत सचेत गराउँदै सङ्घीयता, समावेशिता र धर्म निरपेक्षतालाई स्थापित गर्न र आगामी दिनको शैक्षिक आन्दोलन कस्तो बनाउने भन्नेबारे बहस गरिने आयोजक समिति संयोजक खड्काले जानकारी दिनुभयो ।
१८ औं जिल्ला सम्मेलन आगामी पुष ९ र १० गतेका लागि पत्रकार सम्मेलनबाट जानकारी गराईएको हो । खड्काको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरिएको अखिल (क्रान्तिकारी) जिल्ला ईन्चार्ज पर्वत राईले जनाउनुभयो ।

अधिवेशनका लागि बिभिन्न ७ उपसमिति तथा विभाग समेत गठन गरिएको छ । जिल्ला अधिवेशन आयोजक समितिका संयोजक डीआर खड्काको संयोजकत्वमा प्रतिबेदन तथा आर्थिक, एकराज बुढाथोकीको संयोजकत्वमा प्रचार–प्रसार, दर्शन पुमा राईको संयोजकत्वमा स्वयम सेवक परिचालन, अस्मिना राईको संयोजकत्वमा प्रतिनिधि पर्यबेक्षक तथा अतिथि ब्यवस्थापन समिति समेत निर्णय गरिएको छ ।

यस्तै, रमिला बास्तोलाको संयोजकत्वमा संगठन निर्माण समिति र अजय गदालको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति निर्माण गरिएको ईन्चार्ज राईले जानकारी दिनुभयो । अबिधेशनका लागि मंसिर २५ भित्र गाँउ तथा नगर अधिवेशन सम्पन्न गरिसक्ने अखिल क्रान्तिकारी खोटाङले जनाएको छ ।