खोटाङ, ४ चैत्र । खोटाङकालागि एम्बुलेन्स जुटाउन कतारमा बनभोजको तयारी गरिएको छ । एम्बूलेन्स खरिदकालागि आवश्यक रकम जुटाउन खोटाङ सेवा समाज दोहा कतारले नयाँ वर्षको अवशर पारेर अप्रिल १ तारिखका दिन बनभोजको तयारी गरेको हो ।

नयाँ वर्षको अबशरमा साहानिया क्षेत्रको अलदोसारी जु (पार्क)मा शुभकामना आदान प्रदानकासाथमा बनभोज गर्न लागिएको समाजका महासचिव रुद्रप्रसाद शर्माले जानकारी दिनुभयो । खोटाङ सेवा समाज युकेले जिल्लाकालागि तीन वटा एम्बुलेन्स जुटाउने तयारी गरिरहेकाबेला कतारमा खोटाङ सेवा समाजले पनि एम्बूलेन्स जुटाउने अभियान थालेको छ । कतारमा करिब चार लाख नेपाली कामदारमध्ये १५ हजार कामदार खोटाङ्गका छन् ।

कार्यक्रम गर्नकालागि समाजका अध्यक्ष प्रकाश गुरुङको संयोजकत्वमा मूल आयोजक समिति, प्रथम उपाध्यक्ष तिलाबहादुर खत्रीको संयोजकत्वमा ब्यबस्थापन, द्धितीय उपाध्यक्ष एकराज राईको संयोजकत्वमा साँस्कृतिक समिति गठन गरिएको छ । कार्यक्रम अबधिभर गायकहरु रबिन राई, युवा गायक योगेश खड्का, युगेस राई, हुताराज राई लगायतको सांगीतिक प्रस्तुती रहने छन् ।

यस्तै, खोटाङ्गे कबि, गजलकारले आ–आफ्नो सिर्जना प्रस्तुत गर्ने समाजले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत खोटाङ्गेको पहलमा १८ बर्षअघि स्थापना गरिएको समाजले आपत बिपतमा परेका नेपाली कामदारको उद्धार, अकालमा मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने, आखफन्त गुमाएका आश्रित परिवारलाई आर्थिक तथा संस्थागत सहयोग गर्दैआएको छ ।