खोटाङ, ४ चैत्र । जिल्लामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा खोटाङका बीस जना पाठेघर खस्ने समस्या भएका महिलाको शल्यक्रिया गरिएको छ । सहयोगी नेपाल र जिल्ला स्वास्थ्य कार्यालय खोटाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको दुई दिने स्वास्थ्य शिविरमा पाठेघर सम्बन्धी समस्या भएका बीस जना महिलाको शल्यक्रिया गरिएको हो ।

दिक्तेलस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको शिविरमा ३६ जना महिलाको पाठेघरमा रिङपेशरी राखिएको आयोजक सहयोगी नेपालका अध्यक्ष मेनका अधिकारीले बताउनुभयो । शिविरमा १८ वर्षदेखि ८५ वर्षसम्मको महिलाको पाठेघर शल्यक्रिया गरिएको आयोजकले जनाएको छ ।

बुधबार र बिहीबार दुई दिन सञ्चालन गरिएको शिविरमा ७०४ जनाले स्वास्थ्य जाँच गराएको जनाइएको छ । शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ ।

शिविर सञ्चालनका लागि प्राध्यापक डाक्टर पदमराज पन्तको नेतृत्वमा बीस जना स्वास्थ्यकर्मीको टोली आएको शिविर व्यवस्थापन समिति खोटाङ संयोजक तीर्थ भट्टराईले जानकारी दिनुभयो । कसैको सहयोगबिना नै सञ्चालन गरिएको दुई दिने शिविरमा बाह्र लाख बढी खर्च भएको आयोजकले जनाएको छ ।
 
जिल्लामा पाठेघर खस्ने समस्या रहेका महिलाहरु अत्यधिक मात्रामा रहेकाले उनीहरुलाई जिल्लामै उपचार गराउने उद्देश्यले शिविरको आयोजना गरिएको जनाइएको छ । जिल्लाका जुनसुकै उमेर समूहका महिलामा पाठेघर खस्ने सम्बन्धी समस्या रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।