खोटाङ, चैत्र । जिल्लामा सञ्चालन हुने एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ । चैत्र–१८ गतेबाट सञ्चालन हुने एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । 
परीक्षाका लागि सबै परीक्षा केन्द्रमा आवश्यक सामाग्री पुर्‍याइ सकिएको जिल्ला शिक्षा अधिकारी केशव दाहालले बताउनुभयो । “परीक्षाका लागि यस वर्ष २३ वटा केन्द्र निर्धारण गरिएको छ ।” उहाँले भन्नुभयो, “सबै केन्द्रमा उत्तर पुस्तिकासहित आवश्यक सामाग्री पुर्‍याइ सकेका छौं ।”
यस वर्षको परीक्षामा जिल्लाका छ हजार ९५० जना छात्रछात्राले सहभागिता जनाउने शिक्षा कार्यालयले जनाएको छ । यसमध्ये नियमिततर्फ तीन हजार २०८ तथा आंशिकतर्फ तीन हजार १४५ परीक्षार्थी रहेको जनाइएको छ । 
गत वर्षबाट सञ्चालनमा आएको प्राविधिकतर्फको परीक्षमा यस वर्ष ३८ जना परीक्षार्थी रहेको जनाइएको छ । परीक्षालाई मर्यादित तथा व्यवस्थित गर्न सबैसँग सहकार्य गरिएको जिशिअ दाहालले बताउनुभयो ।