खोटाङ १४ चैत । जिल्ला पशुसेवा कार्यालय खोटाङले सप्ताहव्यापीरुपमा स्वच्छ एवम् स्वस्थ मासु अभियान सुरु गरेको छ । ‘बथशालादेखि भान्छासम्म स्वच्छ तथा स्वस्थ मासु’ भन्ने नाराका साथ कार्यालयले सप्ताहव्यापी अभियान सुरु गरेको हो ।

अभियान अन्तरगत कार्यालयले आइतबार सदरमुकाम दिक्तेलमा प्लेकार्डसहित प्रभातफेरी निकालेको थियो । हाटडाँडादेखि सुरु गरिएको प्रभातफेरी रत्नपार्कमा पुगेर समापन गरिएको कार्यालयले जनाएको छ ।

हामीले खाइने मासुलाई स्वच्छ र स्वस्थ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला पशुसेवा कार्यालय खोटाङका प्रमुख डाक्टर सरोज चौधरीले बताउनुभयो । “अस्वस्थ तथा अस्वच्छ मासुबाट प्राणघातक रोग लाग्न सक्छ ।” उहाँले भन्नुभयो, “यसलाई न्युनिकरण गर्न सरकारले राष्ट्रव्यापी अभियान सञ्चालन गरेको हो ।”

‘बथशालादेखि भान्छासम्म स्वस्च्छ एवम् स्वस्थ मासु’ भन्ने नाराका साथ सञ्चालन गरिएको राष्ट्रव्यापी अभियान अन्तरगत खोटाङको सदरमुकाम दिक्तेलमा निकालिएको प्रभातफेरीमा सहभागी । तस्बिरः हाम्रो खोटाङडटकम

आफूले खाइने मासु छालारहित हुनुपर्ने, बथ गरेको २४ घण्टासम्म डिफ्रिजमा राखेको हुनुपर्ने, बथशाला सफा राख्नुपर्ने, बथ गरिने पशुचौपायालाई तनावबाट मुक्त गराइनुपर्ने, हिँडाएर ल्याएको कम्तिमा दुई दिनपछि मात्र बथ गर्नुपर्ने जस्ता उपायहरु कार्यालयले उपभोक्ता तथा सरोकारवालालाई जानकारी गराएको छ । फोहर ठाउँमा बथ गरिएको तथा अस्वच्छ एवम् अस्वस्थ मासु खाँदा मासुजन्य रोग लाग्नुका साथै फुड पैजन भएर ज्यानै जान सक्ने प्रमुख डाक्टर चौधरीले जानकारी दिनुभयो ।

अभियान अन्तरगत बथशाला अनुगमन सरोकारवालाहरुसँग अन्तरक्रिया लगायत कार्यक्रम तय गरिएको कार्यालयले जनाएको छ । अनुगमनका क्रममा अव्यवस्थित तथा अस्वच्छ एवम् अस्वस्थ मासु बिक्री गर्ने व्यवसायी तथा व्यापारीलाई कारबाही गरिने पशु सेवा कार्यालयले जनाएको छ ।