खोटाङ भदौ–१९  खोटाङस्थित दिक्तेलबजारमा यात्रुले बाह्रै महिना खेप्नुपर्ने सडक शास्ती चाँडै अन्त्य हुने भएको छ । बर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने कच्ची सडक धमाधम ढलान भईरहेकोले बजारबासी तथा यात्रुको शास्ती हट्ने भएको हो ।

केही स्थानीयबाट बेला–बेला बिरोध तथा अवरोध सिर्जना हुने दिक्तेलबजारको सडक ढलान कार्य हाल निर्वाध रुपमा सुचारु छ । जिल्लाको प्रमुख ब्यापारिक केन्द दिक्तेलबजारको ढलान गर्न बाँकी सडकमा हाल दोश्रो चरणको ढलान कार्य तीब्र बनाईएको छ । अघिल्लो बर्षहरुमा बजारबासीको घर तथा जग्गाका कारण बिरोध सिर्जना हुने कार्यमा हाल स्पष्ट मापदण्ड लागु गरिएपछि ढलान प्रक्रिया निर्वाध अघि बढेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालका अनुसार सामान्य विवाद सिर्जना भए पनि स्थानीय आफैले समाधान गर्दै निर्माण कार्य अघि बढाईएको छ ।

ढलान प्रक्रिया अघि बढाउनु अघि नै स्थानीय बजारबासी लगायत सर्वपक्षीय छलफलबाट ढलान कार्यमा सहयोग गर्ने प्रतिबद्दता भएको मेयर रिजालको भनाई छ । ढलानका लागि स्पष्ट मापदण्डको बारेमा बजारबासीलाई बुझाएपछि सहजता आएको उहाँले जनाउनुभयो । बजार क्षेत्रमा साँघुरो सडक भएकाले ढलान कार्य असजह बन्दै आएको थियो ।

गत बर्ष बाँकी रहेका सिचाईँ गेटदेखि नेपाल टेलिकमसम्म ७ सय ६४ घनमिटर सडक ढलान र ४ सय ५३ घनमिटर ग्याभिङ वालको काम धमाधम भईरहेको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख लागतमा साउन २६ गते ढलान कार्य सुरु गरिएको थियो । सुर्य विकास जेभी लाहानले २०७८ मङ्सिर मसान्तमा निर्माण सम्पन्न गर्नेगरि २०७८ असार ९ गते उक्त कार्यको सम्झौता गरेको थियो ।

बर्षायाममा ढलानको प्रक्रिया थालिएकोले हाल दिक्तेलबजारको संगमपार्क–पुरानो बेशक्याम्प क्षेत्र हिलाम्य भएर यात्रुलाई हैरानी भईरहेको छ । बजार क्षेत्रका अन्य सडक अघिल्लो बर्ष नै ढलान भएको छ ।

निरन्तर अनुगमन : समयमै गुणस्तरीय काम सम्पन्न हुने

दिक्तेलबजारस्थित सडक ढलान गुणस्तरीय बन्नका साथ समयमै सम्पन्न हुने जनाईएको छ । निरन्तर अनुगमन गर्नका साथै एक जना ईन्जिनियर दैनिक रुपमा फिल्डमै खटाईएकोले गुणस्तर बन्नेमा बिश्वस्त रहेको नगर प्रमुख रिजालले स्पष्ट पार्नुभयो ।
यसअघि अनुगमनको क्रममा गुणस्तरहीन बालुवा प्रयोग गरिएको पाईएपछि तत्कालै त्यसलाई हटाएर गुणस्तरीय बालुवा प्रयोग गर्न लगाईएको थियो । स्थानीय स्वयमले समेत ढलानका कार्यको गुणस्तरतरीयतामा खबरदारी गरिरहेको पाईएको छ ।।