खोटाङ भदौ–१८, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सेवा प्रवाह र कार्य सम्पादनलाई प्रभावकारी बनाउने सम्झौतामा हस्ताक्षर गरिएको छ । यो बर्ष नगरपालिकाको ‘सेवा प्रवाह सुधार बर्ष’ घोषणा गर्दै मेयर दीपनारायण रिजाल र प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालबीच कार्य सम्पादन सम्झौतामा शुक्रबार हस्ताक्षर भएको हो ।
नगरपालिकाको सभाहलमा आयोजित समारोहमा प्रमुख प्रशासकीय अधिकृत र मातहतका वडा सचिब तथा शाखा प्रमुखहरुबीच समेत हस्ताक्षर भएको छ । अब चाँडै शाखा प्रमुख तथा मातहतका कर्मचारीहरुबीच पनि सम्झौता गराईने मेयर रिजालले बताउनुभयो ।
गरिएको सम्झौतालाई कडाइका साथ मनन् गर्दै कार्य सम्पादन गर्न तथा गराउन मेयर रिजालले आग्रह गर्नुभयो । मेयर रिजालले जनताबाट गुनासो नआउने गरी आफ्नो मर्यादा र जिम्मेवारीलाई पूरा गर्दै प्रभावकारी ढंगले कार्य सम्पादन गर्नैपर्ने दोहो¥याउनुभयो ।
पेशागत आचारण र संहिता भुलेर जिम्मेवारी पूरा नगर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउने मेयरको चेतावनी छ । नगरपालिकाको कतिपय कर्मचारीले उत्कृष्ट ढंगले कार्य सम्पादन गरे पनि कतिपय कर्मचारीले पेशागत आचारणमा तत्कालै सुधार ल्याउनुपर्ने अवस्था रहेको जनाउनुभयो । त्यस्ता कर्मचारीलाई तुरुन्तै आचारण सुधार गर्नका लागि निर्देशन गर्दै सुधार नभए क्षमाको मौका नहुने समेत चेतावनी दिनुभयो । केही कर्मचारी आफ्नो जिम्मेवारी भुलेर मादक पदार्थ सेवन गरी बाटैमा अलपत्र परेको समेत पाईने गरेको संकेत गर्दै आईन्दा त्यस्तो पाईए तत्कालै कार्वाहीमा उत्रने औंल्याउनुभयो ।
अघिल्ला बर्षहरुबाटै सेवा प्रवाह तथा कार्य सम्पादन सुधारका लागि कार्यक्रमहरु अघि ल्याईए पनि अझै राम्ररी सुधार हुन नसकेकोले यो बर्ष कडाईका साथ कार्यान्वायन गर्ने तथा गराउने नगरपालिकाले जनाएको छ ।
कार्य सम्पादन जति भएको छ त्यही आधारमा नै कार्य सम्पादन मूल्याङ्कन गरिने मेयरले उल्लेख गर्नुभयो ।।