
खोटाङ, चैत्र १९ । खोटाङका शिक्षा सम्बद्ध व्यक्तिले एसएलसी ‘लेटर ग्रडिङ’लाई कतिपय ठाउँमा गलत तरिकाले व्याख्या गर्ने गरिएको बताएका छन् ।
सुझाव संकलनका लागि पाठ्याक्रम बिकास केन्द्र सानोठिमीले बिहिबार सदरमुकाम दिक्तेलस्थित पञ्च माबिमा आयोजना गरेको कार्यक्रममा जिल्लाका शिक्षक, विद्यार्थी र अभिभाबकले कतिपय अवस्थामा लेटर ग्रेडिङलाई ‘नपढेपनि पास होईन्छ’ भन्ने गलत मानसिकताको बिकास गरेको बताएका हुन् । ग्रेडिङ उपयुक्त भएपनि विद्यार्थीमा ‘फेल होईन्न’ भन्ने मानसिकताले घर घरेको शिक्षक उद्धव आचार्यले बताए । ‘लेटर ग्रेडिङको व्यवस्था एकदमै राम्रो छ,’ आचार्यले भने, ‘तर यसलाई गलत तरिकाले बुझ्ने काम गरिएको छ ।’
पाठ्याक्रम बिकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेल, उपनिर्देशक गेहनाथ गौतम, शिक्षा मन्त्रालयका उपसचिव अर्जुनबहादुर रायमाझी, पाठ्यक्रम बिकास केन्द्रका शाखा अधिकृत खिलानाथ धमला सामु उनले लेटर ग्रेडिङको व्यवस्था कक्षा १ देखिनै गर्नुपर्ने सुझाव दिए । शिक्षक अभिभाबक संघका अध्यक्ष ग्रेडिङको चर्चापछि विद्यार्थीले ‘नाममात्र लेख्दा पनि पास होइन्छ’ भन्ने गरेको उल्लेख गरे ।
कार्यक्रममा सहभागीले सामुदायीक बिद्यालयमा अध्ययन गर्ने छात्रछात्राकालागि तयार पारिएका पुस्तक गुणस्तरहिन भएको, प्राक्टिकल हुनुपर्नेमा सैद्धान्तिक मात्र भएको, स्तर सुहाउँदो विषयबस्तु नभएको, कक्षागत पाठ्याक्रमबीचमा क्रमबद्धता र अन्तरसम्बन्ध नभएको लगायतका त्रुटी औंल्याएका छन् । पाठ्याक्रम बिकास केन्द्रका कार्यकारी निर्देशक पौडेलले ग्रेडिङको विषयमा सबैलाई स्पष्ट बनाउन बाँकी रहेको बताए । ‘ग्रेडिङको कुराले अल्छी बिद्यार्थी दंग छन,’ सहभागीको जिज्ञासा मेटाउँदै पौडेलले भने, ‘ग्रेडिङ भनेको सबै पास होईन, सबै फेल होईन, यसका बिषयमा गलत बुझाई भइरहेको छ ।’ शिक्षाको गुणस्तर सुधारमा शिक्षककै प्रमुख भूमीका रहने भएकाले शैक्षिक क्रियाकलापमा सुधार गर्नुपर्नेमा पौडेलको जोड थियो । ‘एउटा बच्चा बिद्यालय जाँदा रुन्छ, तर चार बजेपछि रमाउँदै निस्किन्छ,’ उनले भने, ‘बच्चा किन स्कुल जान मान्दैन, किन सरलाई मन पराउँदैन, यसको कारण खोजेमात्र पनि शिक्षामा सुधार आउन सक्छ ।’ पाठ्याक्रम बिकास केन्द्रबाट आएका टोलीले एसएलसि परिक्षाको अनुगमन समेत गरेको छ ।