
खोटाङ, २० चैत । खोटाङ सदरमुकाम दिक्तेलका मासु पसलको स्वच्छतामा सुधार आएको पाइएको छ । जिल्ला पशुसेवा कार्यालयको निरन्तरको प्रयासपछि गरिएको अनुगमनकाक्रममा कुखुरा, बंगुर र राँगाको मासु पसलको सरसफाईमा सुधार आएको पाइएको हो ।
बधशालाको व्यवस्था नहुँदा खुल्ला ठाउँमा काठको फलेक, खाट, प्लाष्टिक तथा त्यही पशुको छाला ओछ्याएर अस्वस्थकर मासु बिक्रीवितरण हुँदैआएको सदरमुकाममा हाल मासुलाई व्यवस्थित बिक्रीकक्ष निर्माण गरेर बिक्रीवितरणको व्यवस्था सुरु भएको जिल्ला पशुसेवा कार्यालय खोटाङका प्रमुख डाक्टर सरोज चौधरीले बताउनुभयो ।

यसैबीच, स्वस्थ र स्वच्छ मासु उपयोगका विषयमा सचेतना जगाउन पशुसेवाले ‘बधशालादेखि भान्छासम्म स्वच्छ तथा स्वस्थ मासु’ भन्ने नाराका साथ आईतबारदेखि सुरु गरेको सचेतनामूलक कार्यक्रम शनिबार समापन गरिएको छ ।