भदाै १२ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले आफ्नै कार्यालय भवनबाट दैनिक सेवा प्रवाह सुरु गरेको छ । चिसापानी बजारमा गाउँपालिकाको कार्यालय स्थापना भएदेखि हालसम्म तत्कालीन चिसापानी गाविसको कार्यालय भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै कार्यालय भवन निर्माण गरेर जनताका लागि दैनिक सेवा प्रवाह सुरु गरेको हो ।
गाविसको पुरानो तथा साँघुरो कार्यालय भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाको लागि निर्माणाधीन अढाइतले भवन बनिनसक्दै भुइँ तलामात्र फिनिसिङ (सम्पन्न) गरेर सञ्चालनमा ल्याइएको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख विदुरमान राईले बताउनुभयो । आर्थिक वर्ष २०७५/७६ मा गाउँपालिकाले विनियोजन गरेको रु ७१ लाख, आव २०७६/७७ मा प्रदेश सरकारबाट प्राप्त रु ५० लाख र २०७७/७८ मा सङ्घीय सरकारबाट प्राप्त रु ८५ लाख गरी रु दुई करोड छ लाखमा आफ्नै कार्यालय भवन निर्माणको काम सुरु गरिएको हो ।
कार्यालय भवन निर्माणका लागि सङ्घीय सरकारबाट प्राप्त रु एक करोड रकममध्ये रु १५ लाख बजेट फ्रिज भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा, इञ्जीनियर, आइटी, सभाहल गरी १० कोठा भएको एकतले भवन निर्माण गरिएको छ ।
गाउँपालिकाको भवनलाई अढाइ तले बनाउने तयारी छ । बाँकी तला निर्माणका लागि पनि चालु आव सङ्घीय सरकारबाट रु एक करोड समपूरक अनुदान रकम प्राप्त भएको सामाजिक विकास शाखा प्रमुख राईले बताउनुभयो ।
विश्वभर फैलिएको कोभिड–१९ को महामारीका कारण गाउँपालिकाको भवन औपचारिकरूपमा उद्घाटन गर्न बाँकी रहेको जनाइएको छ । जिल्लाका अन्य स्थानीय तहहरूले यसअघि नै आ–आफ्नो कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेका छन् ।
यसैबीच खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा निर्माण गरिएको आयुर्वेद शाखा कार्यालयको भवन पनि सञ्चालनमा ल्याइएको छ । विसं २०७२ असार २० गते स्थापना गरिएको आयुर्वेद शाखाको तल्लो तलामा तीन कोठा र माथिल्लो तलामा तीन कोठा भएको भवन निर्माण गरिएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु ८२ लाख ५० हजार (भ्याट बाहेक)को खर्चमा आयुर्वेद शाखाको कार्यालय भवन निर्माणको काम सम्पन्न गरिएको गाउँपालिका प्रमुख प्रदीप राईले बताउनुभयो । सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत प्राप्त भएको बजेटबाट निर्माण सुरु गरिएको भवनमा चरम ढिलासुस्ती र अलमलका बीच आयुर्वेद शाखाको नयाँ कार्यालय भवन निर्माण गरिएको हो ।
गोर्खा अर्जुन जेभी कन्ट्रक्शन प्रालिले ठेक्का लिएको भवनको पटक–पटक पेटी ठेकेदार परिवर्तन गरिएको थियो । अन्तिममा स्थानीय निर्माण व्यवसायी राम कार्कीले आयुर्वेद शाखाको अधुरो काम पूरा गरेको गाउँपालिकाले जनाएको छ ।
आयुर्वेद शाखाबाट खोटेहाङ गाउँपालिकासहित जन्तेढुङ्गा गाउँपालिका, बराहपोखरी गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सर्वसाधारण लाभान्वित भइरहेका छन् । आयुर्वेद औषधिले ‘साइड इफेक्ट’ नगर्ने भएकाले पछिल्लो समय स्वास्थ्य सेवाका लागि आयुर्वेद शाखामा जाँज गर्न आउने स्थानीय बासिन्दाको सङ्ख्यासमेत बढेको गाउँपालिका प्रमुख राईले बताउनुभयो । रासस