
खोटाङ असोज–६, खोटाङका मृगौला पीडित वालिकाको लागि फेसबुक पेजको माध्यमबाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । ‘हाम्रो आवाज परिवर्तन समाज’ नामक फेसबुक पेजका सञ्चालकले संकलन गरेको २२ हजार पाँच सय रुपैंयाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी मृगौला पीडित ९ वर्षीय सुस्मिता बिश्वकर्मालाई हस्तान्तरण गरिएको हो ।
पुर्व–पश्चिमका ७२ युवाले सञ्चालन गरिरहेको फेसबुक पेजका सञ्चालकले शनिबार खोटाङखबर साप्ताहिकको दिक्तेलस्थित कार्यालयमा रकम हस्तान्तरण गरेका हुन् । फेसबुक पेजका सञ्चालकबाट संकलन गरिएको रकम सामाजिक दिवसको अवशर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंक आचार्यले पीडित बालिकालाई हस्तान्तरण गर्नुभएको हो ।
दुबै मिर्गौला प्रत्यारोपणका लागि आर्थिक समस्यामा परेका बिश्वकर्मा परिवारलाई सहयोग गरिएको फेसबुक पेजका सञ्चालक कृष्णकला राईले बताउनुभयो । बाम्राङ घर भइ हाल कतारमा रहेका युवराज थापाले पनि सुस्मितालाई शुक्रबार सुर्केडाँडा आधारभुत बिद्यालयका प्रअ सुर्यबहादुर थापामार्फत १५ हजार सहयोग प्रदान गर्नुभएको थियो ।