रामधन राई/खोटाङ, २५ चैत । निरन्तरको साधना र संघर्षपछि अन्ततः गायिका ग्रीष्मा खालिङ राई एकल गीति एल्बम ‘कामना’मार्फत नेपाली सांगीतिक मनहरुबीच उपस्थित भएकी छिन् ।
१३ बर्ष अघिदेखि गीतसंगीतको क्षेत्रमा साधना र संघर्ष गरिरहेकी गायिका खालिङले नयाँ बर्ष २०७३ को आगमनसँगै गीति एल्बम ‘कामना’ ल्याएर यतिखेर सफलता र प्रगतिको कामना बटुलिरहेकी छिन् । गीतसंगीतमै जीबन खोजिरहेको बताउने खोटाङ जालपाका उनी गाउँमा बिद्यालय उमेरदेखि नै गीत गाउँने गर्थिन् । संगीतिक मोहमा अति नै कसिएपछि उनी काठमाण्डौं प्रबेश गरी संगीत बिषय नै लिएर क्याम्पसमा तथा अन्य तालिम केन्द्रमा अध्ययन तथा साधनालाई निरन्तरता दिईरहेकी थिईन् ।
गायिका खालिङको एल्बम कामनामा शिब संगम राई, निमा छिरिङ शेर्पा र लीला बुढा मगरको शब्द तथा शिब संगम राई, रामचन्द्र राई र याकुब राईको संगीत रहेका छन् । युथ क्रियशनले उत्पादन तथा बितरण गर्ने ‘कामना’मा भेट हुँदा.., तिमीलाई भेट्न…, समीपको फूल… र जवानीका फूल…. बोलका गीतहरु समेटिएका छन् ।
अब यही बैशाख देखि तत्कालै अर्को गीति एल्बमको तयारीमा जुट्ने बताउने गायिका खालिङका अनुसार म्युजिक भिडियो पनि बनाउने योजना छ ।