खोटाङ खोटाङ–११,  खोटाङमा श्रीमतिलाई आत्महत्या गर्न बाध्य पारिएको अभियोगमा एक युवक पक्राउ परेकोे छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित चिचिङ्गाकी २१ वर्षीया शिक्षा राईलाई आत्महत्या गर्न बाध्य पारिएको अभियोगमा उनका श्रीमान मनकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मृतकको श्रीमानलाई बिहिवार नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो । मृतकका आफन्तले भने शिक्षाको आत्महत्या नभई हत्या भएको बताएका छन् ।

आफ्नै घरको बरण्डामा झुण्डिएको अवस्थामा भदौ–७ गते शव फेला परेकी शिक्षाको श्रीमानले हत्या गरेको भन्दै आफन्तले बिहीबार किटानी जाहेरी दिएका थिए । तर, मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको उनका आफन्तको गुनासो छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ माइती भएकी शिक्षाले वर्ष दिनअगाडि मनकुमारसँग प्रेम विवाह गरेकी थिइन् । बाम्राङ माइती घर बसेर दिक्तेलस्थित सरस्वती माविको कक्षा–१२ मा अध्ययनरत शिक्षा केही महिनाअघि मात्र चिचिङ्गा श्रीमानको घर गएकी थिइन् ।

घटनाको खबर पाउनासाथ भोलिपल्ट बिहान माइतीपक्ष शिक्षाको घर पुग्दा उनको शव शंकास्पद अवस्थामा देखिएकाले उनको श्रीमानविरुद्द कर्तव्य ज्यान सम्बन्धी मुद्दाको किटानी जाहेरी दिइएको मृतकका काका ज्ञानबहादुर राईले बताउनुभयो । मृतक शिक्षाको हात र निधारमा निलडाम देखिएको तथा अनुहार रगताम्य भएको देखेपछि उनका श्रीमानविरुद्ध कानूनी कारवाही गरी पाउँ भनेर प्रहरीमा किटानी जाहेरी दिएको आफन्तको भनाई छ । तर हत्या होइन भनेर जाहेरी लिन अस्वीकार गर्दै प्रहरी नै पीडकको संरक्षणमा लागेको देखिएको ज्ञानबहादुरको आरोप छ ।

प्रहरीले शिक्षा हत्याको किटानी जाहेरी लिन अस्वीकार गरेपछि प्रहरीकै सल्लाहमा मृतकका श्रीमानविरुद्द आत्महत्या दुरुत्साहनको जाहेरी लिएर गएको पीडित पक्षले बताएका छन् । आफूहरुसँग प्रमाण रहेको र यहाँबाट कानूनी उपचार नभए अन्यत्र जान्छौँ भनेपछि मात्र प्रहरीले आत्महत्या दुरुत्साहन सम्बन्धीको जाहेरी लिएको आफन्त सुनाउँछन् ।

आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएसँगै मृतकको श्रीमानलाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ । घटनास्थलमा आफू स्वयम् पुगेर हेर्दासमेत उनको हत्या भएको नदेखिएको प्रहरी निरीक्षक सागर साहको दाबी छ । अनुसन्धानको क्रममा हत्या नै भएको रहेछ भन्ने पुष्टि भएमा हत्या गरेको किटानी जाहेरी मागेर कारवाहीको प्रक्रिया अगाडि बढाउने साहले स्पष्ट पार्नुभयो ।