खोटाङ, चैत्र २७ । खोटाङका ठूला महत्वका विकास निर्माणलाई चुस्त र द्रुत गतिमा पूरा गर्न दवाब दिनका लागि स्थानीय शान्ति समितिको टोली राजधानी काठमाडौं पुगेको छ ।

पुल तथा सडक निर्माणका काममा भइरहेको ढिलासुस्तीका बिरुद्ध सम्बन्धित मन्त्रालयमा गएर दवाव दिनका लागि शान्ति समितिको टोली काठमाण्डौं पुगेको हो । शान्ति समितिको नेतृत्वमा शुक्रबार साँझ राजधानी पुगेको सर्वदलीय सर्वपक्षीय टोलीले प्रधानमन्त्री, गृह–मन्त्रालय, अर्थमन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, सडक बिभाग, शान्ति मन्त्रालय लगायतमा पुगेर पुल र सडक निर्माणमा भइरहेको ढिलासुस्तीका बिरुद्ध आवाज उठाउने शान्ति समितिका संयोजक श्यामराज राईले बताउनुभयो ।

यसबाहेक बिपक्षी दलका नेता, जिल्लाका वर्तमान एबं पुर्वसांसद लगायतसँग जिल्लाको बिकास निर्माणमा भइरहेको ढिलाइका विषयमा आवाज उठाउन छलफल गरिने शान्ति समितिले जनाएको छ । समितिले बिकास निर्माणमा भइरहेको ढिलासुस्तीका बिषयमा उठाइने आवाजलाई निर्णायक र शसक्त बनाउनकालागि राजधानीमै बसोबास गरिरहेका खोटाङ्गेबीचमा शनिबार भोजनगृह डिल्लीबजारमा छलफल गर्ने तयारी गरेको संयोजक राईले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामस्थित दुधकोसीको पुल र रेग्मीटारस्थित साप्सु खोलाको पुल निर्माणमा ढिलाई भइरहेको, ठेक्का लागेपनि खोटाङ र उदयपुरको फोक्सिङ्टारस्थित सुनकोसीको पक्की पुल निर्माणको काम सुरु नभएको, दिक्तेल–हलेसी सडक खण्डको पिचका काम कछुवा गतिमा भइरहेको भन्दै जिल्लामा चौतर्फी बिरोध सुरु भएपछि शान्ति समितिको नेतृत्वमा १९ जनाको टोली राजधानी पुगेका हुन् ।

पुल, सडक लगायतका ढिलासुस्तीका बिषयमा जिल्लादेखि राजधानीसम्म सुरु भएको दवाबमुलक कार्यक्रमलाई समेटेर शान्ति समितिले आन्दोलनको नेतृत्व लिएको हो । टोलीले पुल र सडक बाहेक पर्यटन, भूकम्पको पुःर्ननिर्माण, खानेपानी समस्य लगायतका बिषयमा समेत सम्बन्धित मन्त्रालयमा पुगेर आवाज उठाउने तयारी गरेको छ ।