खोटाङ, चैत्र २८ । खोटाङका ठूला महत्वका बिकास निर्माणलाई चुस्त र द्रुत गतिमा पूरा गर्न दवाब दिनकालागि काठ्माण्डौं पुगेको स्थानीय शान्ति समितिको टोलीले प्रतिपक्षी दल नेपाली कांग्रेस समक्ष डेलीगेसन जाने तयारी गरेको छ ।
विकास निर्माणमा भइरहेको ढिलासुस्तीका बिषयमा उठाइने आवाजलाई निर्णायक र शसक्त बनाउनका लागि राजधानीमै बसोबास गरिरहेका खोटाङ्गेबीचमा शनिबार राजधानीमा छलफल गरेको शान्ति समितिको टोलीले सोमबार कांग्रेस पार्टी कार्यालयमा डेलीगेसन जाने तयारी गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटगरी खोटाङका बिकास निर्माणमा भइरहेका हेलचक्र्याँई र ढिलासुस्तीका बिरुद्ध नैतिक समर्थन जुटाइने शान्ति समितिले जनाएको छ ।
आफ्नो मागका बिषयमा कांग्रेसको ध्यानाकर्षण गराएपछि अन्य दवावमुलक कार्यक्रम तया गरिने शान्ति समितिका संयोजक एबं नेकपा मालेका केन्द्रीय सदस्य श्यामराज राईले बताए । ‘बिकास निर्माणका बिषयमा सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गर्छौँ,’ संयोजक राईले भने, ‘त्यसपछिका दिनमा के गर्ने भन्ने पछि टुंगो लगाउने छौँ ।’ पुल तथा सडक निर्माणका काममा भइरहेको ढिलासुस्तीका बिरुद्ध सम्बन्धित मन्त्रालयमा गएर दवाव दिनकालागि शान्ति समितिको टोली शुक्रबार काठ्माण्डौं पुगेको हो । शान्ति समितिको नेतृत्वमा शुक्रबार साँझ राजधानी पुगेको सर्वदलीय सर्वपक्षीय टोलीले प्रधानमन्त्री, गृह–मन्त्रालय, अर्थमन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, सडक बिभाग, शान्ति मन्त्रालय लगायतमा पुगेर पुल र सडक निर्माणमा भइरहेको ढिलासुस्तीका बिरुद्ध आवाज उठाउने जनाएको छ । यसबाहेक बिपक्षी दलका नेता, जिल्लाका वर्तमान एबं पुर्वसांसद लगायतसँग जिल्लाको बिकास निर्माणमा भइरहेको ढिलाइका विषयमा छलफल गर्दै दवावमुलक कार्यक्रम गरिने शान्ति समितिका संयोजक राईले जनाए । समितिले बिकास निर्माणमा भइरहेको ढिलासुस्तीका बिषयमा उठाइने आवाजलाई निर्णायक र शसक्त बनाउनकालागि राजधानीमै बसोबास गरिरहेका खोटाङ्गेबीचमा शनिबार भोजनगृह डिल्लीबजारमा छलफल गरेको थियो ।
बिकास निर्माणकालागि दवाव दिन दिक्तेलबाट कांग्रेस सभापति नरेश श्रेष्ठ, सचिव इच्छु राना, नेकपा एमालेका अध्यक्ष बबी चामलीङ, एमाओबादीका अध्यक्ष देवान किराती पृथ्बी, राप्रपा नेपालका अध्यक्ष जीवन श्रेष्ठ, राप्रपाका अध्यक्ष ललितकुमार राई, नेकपा मालेका संयोजक मिन आचार्य, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष तुलसी खम्बू, नेकपा माओबादी क्रान्तीकारीका अध्यक्ष सुनिल चौंलागाई लगायतको टोली काठ्माण्डौं पुगेका छन् ।
जिल्लाका नेता बिकास निर्माणका सवालमा दवाव दिन टोली बनाएर केन्द्र पुगेको यो पहिलो हो । हातेमालो गर्दै राजधानी पुगेको टोलीमाथि जिल्लाकालागि केही न केही उपलव्धी लिएर मात्र जिल्ला फर्कनुपर्ने दवाव छ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामस्थित दुधकोसीको पुल र रेग्मीटारस्थित साप्सु खोलाको पुल निर्माणमा ढिलाई भइरहेको, ठेक्का लागेपनि खोटाङ र उदयपुरको फोक्सिङ्टारस्थित सुनकोसीको पक्की पुल निर्माणको काम सुरु नभएको, दिक्तेल–हलेसी सडक खण्डको पिचका काम कछुवा गतिमा भइरहेको भन्दै जिल्लामा चौतर्फी बिरोध सुरु भएपछि शान्ति समितिको नेतृत्वमा १९ जनाको टोली राजधानी पुगेका हुन् ।
पुल, सडक लगायतका ढिलासुस्तीका बिषयमा जिल्लादेखि राजधानीसम्म सुरु भएको दवाबमुलक कार्यक्रमलाई समेटेर शान्ति समितिले आन्दोलनको नेतृत्व लिएको हो । टोलीले पुल र सडक बाहेक पर्यटन, भूकम्पको पुःर्न निर्माण, खानेपानी समस्य लगायतका बिषयमा समेत सम्बन्धित मन्त्रालयमा पुगेर आवाज उठाउने तयारी गरेको छ ।