
खोटाङ, २८ चैत । खोटाङ सदरमुकाम दिक्तेलमा जारी जलवायु परिवर्तन र अनूकुलन सम्बन्धी चार दिने प्रशिक्षण समापन भएको छ । ईसिमोडको सहयोग र जिल्ला बिकास समिति वाताबरण उर्जा तथा जलवायु परिवर्तन शाखाको सहकार्यमा गाबिस राष्ट्रिय महासंघको आयोजनामा बिहिबार सुरु भएको प्रशिक्षण आईतबार समापन गरिएको हो ।
स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेको प्रमुख आतिथ्य तथा महासंघका जिल्ला अध्यक्ष नारायणप्रसाद जोशीको सभापतित्वमा कार्यक्रम समापन गरिएको हो । जलवायु परिवर्तनका बिषयमा जानकारी दिँदै यसको रोकथामका बिषयमा सचेतना अभिबृद्धिकालागि तालिमको आयोजना गरिएको गाबिस राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।
तालिममा जलवायु परिवर्तन, यसका कारण, जलवायु परिवर्तनका अशर, जलवायु परिवर्तनमैत्री योजना, जलवायु अनूकुलन योजना तर्जुमा प्रकृया, हरितगृह लगायतका बिषयमा जानकारी दिइएको छ । प्रशिक्षणमा राजनैतिक दल, विषयगत कार्यालय, जिबिस, नगरपालिका, गाबिस, गैर–सरकारी संस्था, अधिकारबादी संगठन, पत्रकार लगायतको सहभागीता रहेको थियो । होटल शुभदिनमा आयोजना गरिएको प्रशिक्षणमा गाबिस राष्ट्रिय महासंघका बरिष्ठ कार्यक्रम अधिकृत लक्ष्मण पाण्डे र सुनिता कर्माचार्यले सहजीकरण गरेका थिए ।