दिक्तेलबाट मङ्गलबार बिहान पाँच बजे १८ जना यात्रु लिएर काठमाडौं हिँडेको बा २ ख ६३७६ नम्बरको बस महादेवस्थान–१ स्थित बर्खेटारमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक काठमाडौं घर भएका अर्जुन उप्रेती, दिक्तेल नगरपालिका–१४ का सन्तोष कटवाल, दिप्सुङका गोविन्द तिम्सिना, च्यास्मिटारका रविन राई, डिकुवा–८ का मेजर राई, खार्मी–५ की मित्रकुमारी राई, निर्मलीडाँडा–३ की विमला राई, याम्खा–७ का भैरव राई, उदयपुर बाँसबोटे–३ का द्रविन राई, उदयपुर ताम्लिछा–७ की शान्ता राई, ताम्लिछा–५ का ओमश्री राई, ठानागाँउ–३ का हेम सुनुवार, सोही ठाउँका भाजुनारायण श्रेष्ठ, सोलुखुम्बु पञ्चन–१ का सोम सुन्दास, सोलुखुम्बु घर भएकी सुस्मा राईको सनाखत भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु हुने अन्य नौं जनाको पनि सनाखत हुन बाँकी रहेको जनाइएको छ ।
दुर्घटनामा ज्यान गुमाएका मृतक सबै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । उनीहरुको आफन्त आएपछि सनाखत तथा परीक्षण गरेर जिम्मा लगाइने प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो ।
दुर्घटनामा ३१ जना घाइते बनेका प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर प्रकृतिका २३ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलीकोप्टरमार्फत राजधानी काठमाडौं पु¥याइएको छ । २३ जनामध्ये १२ जनाको शिक्षण, ३ जनाको ग्रिनसिटी, ३ जनाको बिएण्डबी, २ जनाको वीर अस्पताल र १ जनाको छाउनीमा उपचार भइरहेको छ ।
उनीहरुको अवस्था गम्भीर रहेको काठमाडौंबाट अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईले जानकारी दिनुभयो । दुर्घटनाका अन्य सामान्य प्रकृतिका घाइते ८ जनाको भने स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ ।
बस दुर्घटनामा घाइते भएका ३१ जनामध्य २७ जनाको सनाखत भएको छ । गम्भीर घाइते भएका खोटाङ च्यास्मिटार–८ की सर्मिला राइ सोहि ठाँउकी रामकुमार राई, बास्पानी–२ की रेश्मा राई, रतन्छा–७ बस्ने नीनम राई, सोहि ठाँउका प्रसान्त राई, दिक्तेल नगरपालिका– २ सजिना बर्देवा, खोटाङबजार–२ की पाथेका–४ बस्ने मीलन राई, बास्पानी घर भएका जक्सन राई, दिक्तेल नगरपालिका–११ लफ्याङकी देवका कटवाल, दिक्तेल खाल्ले–१३ का मनोज बस्नेत, खार्मी–५ बस्ने खड्गबहादुर राई, दुर्छिम घर भएका प्रेमकुमार राई, डिकुवा–६ का शुक्र राई घाइते भएका हुन् ।
यस्तै, उदयपुर–५ ताम्लीछाका ढकबहादुर राई, उदयपुर डाँडागाँउ–१ का अमरबहादुर मगर, ताम्लिछा–५ उदयपुर बस्ने खेमराज राई, उदयपुर बास्बोटे–३ का तीलकशेर राई, धनुषा जिल्ला घर भएका रघुनाथ शाह, मोरङ जिल्ला घर भएका सविन खनाल र पाँचथरका नरेन्द्र अधिकारीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइते भएकामध्ये तीन जनाको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यस्तै, सामान्य घाइते भएका अन्य ८ जनाको प्राथामिक स्वास्थ्य चौकी हलेसीमा उपचार भइरहेको छ । सामान्य घाइते हुनेहरुमा उदयपुर बास्वोटेका विष्णु राई, सोहि ठाँउका सन्देश राई, उदयपुर बलम्ता –६ का तीलक राई, उदयपुर ताम्लीछाका सुनील राई, दुर्छिम–९ खोटाङका विनोद राई, बास्बोटे उदयपुर घर भएका राजकुमार राई, सोहि ठाँउका देवेन्द्र राई र सहचालक ओखलढुङगा घर भएका तेन्जीङ शेर्पाको प्राथामीक स्वास्थ्य चौकी हलेसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । बसमा सवार भएकामध्य ३ जना घाइतेको पहिचान हुन सकेको छैन् ।
साँघुरो तथा धुलाम्मे सडकबाट १५० मिटर तल खसेको बस भीरको थुम्कामा रहेको बाँसको झाङ्मा अड्किएको छ । दुर्घटना भएलगत्तै दिक्तेलबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको थियो ।
भिरालो ठाउँमा भएको दुर्घटनाका कारण घाइते तथा मृतकको शव पाखा र खोल्साखाल्सी छरिएर रहेको अवस्थाबाट उद्दार गरिएको सशस्त्र प्रहरी बल हलेसी गुल्मका सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिनुभयो । कालोपत्रेका लागि सडक फराकिलो पार्ने क्रममा दिक्तेल–हलेसी सडक खण्डको विभिन्न ठाउँमा ढुङ्गा थुपारिएको छ ।
३४ जनाको सिट रहेको अर्खौलेका गोपाल श्रेष्ठको बसमा ५५ जना यात्रु चढाएर लगेको पाइएको छ । दिक्तेलबाट १८ जनाको चलानी लिएर हिँडेको बसले बिचबाटोबाट सिट संख्याभन्दा २१ जना बढी यात्रु थपेर लगेको हो ।
दुर्घटनास्थलमा माथिबाट झरेको ढुङ्गाले सडक साँघुरो पारेको घटनास्थल पुगेका ट्राफिक प्रहरी सहायक निरीक्षक तेजबहादुर बस्नेतले जानकारी दिनुभयो । “बसमा यात्रु पनि धेरै चढाएका रहेछन् ।”उहाँले भन्नुभयो, “ढुङ्गा झरेर साँघुरो बनेको सडकमा छेउबाट पार गराउन खोज्दा बस पल्टिएको देखिन्छ ।”
मृतकमध्ये खार्मी–५ की मीत्रकुमारी उपचारको लागि काठमाडौं जानेक्रममा दुर्घटनामा परेको आफन्तले जनाएका छन् । उनको श्रीमान खड्गबहादुरसँगै बिहान दिक्तेलबाट बस चढेकी मीत्रकुमारीको घटनास्थलमै ज्यान गएको जनाइएको छ । दुर्घटनामा मीत्रकुमारीको श्रीमान खड्गबहादुरको कम्मरमा चोट लागेको जनाइएको छ । उनको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब दश कोष टाढा पर्छ । दुर्घटनाग्रस्त क्षेत्र मानिएको बर्खेटारबाट वि.स. २०६५ सालमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थमा र दुई जनाको उपचारको क्रममा ज्यान गएको थियो ।
जिल्लामा भएको दुर्घटनामध्ये यो दुर्घटना सबैभन्दा ठूलो हो । दुर्घटनामा आफन्तजनले ज्यान गुमाएपछि जिल्ला शोकमग्न बनेको छ ।
दुर्घटनापछि जिल्लास्थित राजनीतिक दल, विभिन्न संघसंस्था लगायतले विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेका छन् । घटना लगत्तै उनीहरुले आ–आफ्नो तर्फबाट विज्ञप्ती जारी गरेर दुःख व्यक्त गरेको हुन् ।