खोटाङ, २ वैशाख । रामनवमीको अवसरमा धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पन्ध्र दिने मेला सुरु भएको छ । मेलामा नेपाल लगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, श्रीलंका, दक्षिण कोरिया लगायत विभिन्न देशका हजारौं दर्शनार्थी आएका छन् ।

हिन्दु, वौद्ध र किरात, धर्मालम्बीहरुको त्रिवेणीस्थल मानिने हलेसीमा यस वर्ष दर्शनार्थीको  संख्या उल्लेख्य मात्रामा बृद्धि भएको हलेसी विकास समितिले जनाएको छ । मेलामा काठमाडौं, धरान, बिराटनगर, जनकपुरधाम, ईलाम, रौतहट, पोखरा, लगायत छिमेकी देश भारतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर आएका छन् ।

धार्मिक तथा साँस्कृतिक रुपले प्रसिद्ध मानिने तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । महादेवगुफा, धर्मद्धार, पापद्धार, बसाहागुफा, भैरबगुफा, दुंदेलोगुफा लगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी हलेसी आउने गरेको विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिनुभयो ।

हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज लगायतमा ठूलो मेला लाग्ने गर्दछ । हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभयो ।