खोटाङ, ४ वैशाख । बर्खेटारमा भएको बस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेका आफन्तले मृतकको साथमा रहेको नगद, गहना र सामान नपाएको भन्दै आक्रोश पोखेका छन् । महादेवस्थान–१ स्थित बर्खेटारमा २४ जनाको ज्यान जानेगरि मङ्गलबार भएको बस दुर्घटनाका मृतकले लगाएको सुनको औंठी, सिक्री लगायत नगद नपाएको भन्दै मृतकका आफन्तले आक्रोश पोखेका हुन् ।
दिक्तेलबाट काठमाडौं हिँडेको बा २ ख ६३७६ नम्बरको बस दुघटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनाका मृतक र घाइतेले लगाएको गहना तथा तथा बोकेको नगद फेला नपरेको मृतकका आफन्तले बताएका छन् ।
दुर्घटनामापरि ज्यान गुमाएकी निर्मलीडाँडा गाविस–३ कि ३३ वर्षीया विमला राईको साथमा रहेको नगद तथा गहना फेला नपरेको मृतकका भाइ मिलन राईले बताउनुभयो । “दिदीको हातको औंलामा लगाइएको औठीको डोब मात्र थियो ।” उहाँले भन्नुभयो, “दुर्घटना हुँदा घाँटीमा लगाएको सिक्री कतै हराए पनि हातको औंठी त नखस्नु पर्ने हो नि !”
त्यसो त मृतक तथा घाइतेका परिवारले यात्रारत आफन्तहरुले लगेर गएको झोला समेत पाएका छैनन् । तीनवटा झोला सहित सरसामान बोकेर यात्रा गरेका मृतक तथा घाइतेको परिवारले एउटा झोला र बोकेको रकममध्ये आधा भन्दा कम मात्र प्रहरीले उपलब्ध गराएको गुनासो गरेका छन् ।
बस दुर्घटना भएपश्चात उद्दारसँगै सरसामानको पनि संरक्षण गर्नुपथ्र्यो तर नगद, गरगहना र सामान लुकाउने काम गरेको मृतकका आफन्त अगमसिं राईले बताउनुभयो । दुर्घटना भएकै अघिल्लोदिन मात्र तलब बुझेर खोटाङको जालपाबाट हिडेका २० जना कामदारका आफन्तलेसमेत कुनै रकम फेला पारेका छैनन् ।
उनीहरुमध्ये कतिपयको मृत्यु भएको भने कतिपय घाइते भएका छन् । उनीहरुको साथमा भएको आठ लाख बढी नगद तथा सामान समेत आफन्तले पाएका छैनन् ।  
दुर्घटनाका मृतक राखाबाङ्देलकी लक्ष्मी राईको साथमा ३९ हजार रहेको आफन्तले बताएका छन् । उनको साथमा रहेको ३९ हजारमध्ये प्रहरीले १८ हजार मात्र उपलब्ध गराएको छ भने सात हजार बोकेर यात्रा गरेकी सुष्मा राईको आफन्तलाई चार हजार १०० उपलब्ध मात्र उपलब्ध गराएको तथा सामान सहितको ४ वटा झोलामध्ये १ वटा मात्र मृतकको आफन्तले बुझेर गएका छन् ।
पतिसँगै उपचारको लागि काठमाडौं हिडेकी खार्मी–५ की मृतक मीत्रकुमारी राईको साथमा रहेको ३७ हजार ५०० प्रहरीले फिर्ता दिएपनि घाइते पति खड्गबहादुरको झोलामा भएको नगद ५० हजार र कागजपत्र नदिएको मृतकका भाइ पर्शुराम राईले बताउनुभयो । “दाजुले बोकेको नगद ५० हजार र झोला फेला परेन ।” उहाँले भन्नुभयो, “मर्ने मरेर गएपनि नगद र कागजात पाएको भए हुन्थ्यो ।”
अहिले प्रत्येक चौकचौकमा मृतकका आफन्तले शव बुझे पनि नगद, गरगहना तथा सरसामान नपाएको र उद्दारमा संलग्न प्रहरीले लुकाएको चर्चा गर्न थालेका छन् । त्यसो त हुर्लुङ–जालपा सडक खण्डमा काम गर्ने २० जना कामदारका आफन्तले पनि नगद तथा गरगहना र सरसामान पाएका छैनन् ।
एकदिनअघि मात्र उनीहरुले प्रतिव्यक्ति २० देखि ३० हजारसम्म कामको ज्याला बुझेका स्रोतले जनाएको छ । “कामदार समूहका लिडर मेजर राईले ५४ हजार तलब बुझेका थिए ।” स्रोतले भन्ुभयो, “अन्य कामदारले पनि घरखर्च उनकै साथ लगाएर पठाएका थिए । तर उक्त रकम हालसम्म पनि पीडित परिवारहरुले नपाएको गुनासो आएको छ ।”
सडक निर्माण आयोजना एलआरआईपीका टिमलिडर जयबहादुर भुजेलले कामदारलाई रकम वितरण गरेको भरपाईसहित जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन पेश गरेको बताउनुभयो । यद्यपी, केही मात्रामा नगद तथा सरसामान फेला परेको भएपनि पीडित परिवारले पुरै नगद तथा सरसामान पाउन नसकेको भुजेलको भनाइ छ ।
प्रहरीले भने मृतक तथा घाइतेका परिवारलाई आफूले उद्दारको क्रममा फेला पारेको सबै सामान उपलब्ध गराइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले बताउनुभयो । मृतकका आफन्तले भने आफूहरुले पुरै सामान नपाएको गुनासो गरेका छन् ।