खोटाङ ४ बैशाख । रसुवाकी क्यान्सर पिडित बालिकालाई मलेसियामा कार्यरत खोटाङका युवाको पहलमा झण्डै दुई लाख सहयोग प्राप्त भएको छ ।
रक्त क्यान्सरबाट थलिएकी रसुवाको लहरेपौवा–४ की ५ वर्षीय मोनिका तामाङको जीवन रक्षाकालागि मलेसियामा कार्यरत खोटाङ नुनथलाका चिसाङ शेर्पाको पहलमा एक लाख ९० हजार ८४६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको हो । क्यान्सर पिडित बालिकाको जीवनरक्षाकालागि सञ्चालन गरिएको उपचार खर्च संकलन अभियानबाट जुटेको रकम पिडित बालिकाकी आफन्तलाई पठाइएको मलेसियाबाट शेर्पाले बताउनुभयो । मलेसियमा संकलित रकम आईएमई गरेर बालिकाको आफन्तको हातमा पु¥याइएको छ ।
तीन महिनादेखि ब्लड क्यान्सरबाट पिडित बनेकी बालिकाको उपचार खर्च जुटाउन शेर्पाको पहलमा ‘ब्लड क्यान्सर पीडित मोनिका तामाङ बचाउ अभियान’ नामक फेसबुक अभियान सुरु गरिएको थियो । मलेसियामा मोनीका बचाउ अभियान चलाइरहेका चिसाङलाई कतारबाट पनि खोटाङकै युवाले साथ दिइरहेका छन् । आर्थिक स्थिति कमजोर भएका कारण क्यान्सर पिडित बालिकाको आफन्तले उपचारकालागि सहयोगको याचना गरेपछि सहयोग जुटाउन अभियान चलाइएको हो । पिडित बालिकालाई सुर्य चामलीङ र समर बुढा लगायतबाट पनि ५ हजार १०४ रुपैयाँ प्राप्त भएको छ । ‘एक्यूट लिम्फोसाइटीक लेउकेमिया अल’ नामक क्यान्सर भएकी बालिकाको उपचारकाक्रममा हालसम्म ४ लाखभन्दा बढि रकम सकिएको आफन्त प्रदीप तामाङले बताए ।
हाल कान्ती बाल अस्पताल काठ्माडौँमा उपचाररत बालिकाको शरीरमा दैनिक ताजा रगत खरिद गरेर फेरीरहनुपर्ने अवस्था छ । आफन्त तथा शुभेच्छुककै सहयोगमा बालिकाको उपचार भइरहेको छ । सानै उमेरमा छोरीलाई प्राणघातक रोगले च्यापेपछि तामाङ परिवार चिन्तित छन् । सहयोग मिले बालिकालाई क्यान्सरबाट जोगाउन सकिने तामाङ परिवारको आशा छ । ‘सहयोग पाए छोरीले नयाँ जीवन पाउन सक्छ,’ आफन्त प्रदीपले भन्नुभयो, ‘मोनिकालाई आफ्नै छोराछोरी सम्झेर सहयोग गर्न हाम्रो आग्रह छ ।’ क्यान्सर पिडित मोनिकालाई सहयोग गर्न सिआइएमबीको खाता नम्बर ७००१३२४४१६ मा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । यसअघि चिसाङकै पहलमा मलेसियामा नुनलथा–९ का क्यान्सर पिडित यामबीर तामाङको सहयोगार्थ अभियान चलाइएको थियो ।