
खोटाङ असोज–८, खोटाङमा भूकम्पपीडित लाभग्राहीहरुका लागि ‘एक घर–एक सीपमूलक रोजगारी’को अवधारणसहित एकीकृत नमुना वस्ती निर्माण योजना सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका भूकम्पपीडित लाभग्राहीका लागि सोही स्थानमा ‘रामनाथ नमुना एकीकृत वस्ती’को सिलन्यास भईसकेको छ ।
स्थानीय भूकम्पपीडतहरुको पहलमा सोही स्थानका सारदाप्रसाद ढकालवाट साँडे सात रोपनी जग्गा निःशुल्क उपलब्ध भएपछि नेपालकै पहिलो सीपमूलक व्यवसाय तथा जीविकोपार्जनसहितको एकीकृत नमुना वस्ती वनाउने योजना सुरु गरिएको थियो । उपलब्ध जग्गा प्राविधिक हिसावले उपयुक्त ठहरिएपछि भूकम्प पूर्ननिर्माण प्राधिकरण र नगरपालिकाको सहयोग तथा समन्वयमा वस्ती निर्माणको काम अघि बढेको हो ।
एकीकृत वस्तीमा घर निर्माण गर्ने पीडितहरुलाई सीपमूलक तालिम प्रदान गरी सोही ठाउँमा रोजगारीको समेत ब्यवस्था गर्ने निर्माण उपभोक्ता समितिको संयोजक प्रमेश ढकालले जनाउनुभएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनलाई भरपूर सदुपयोग गर्नेगरी सीपमूलक तालिम तथा रोजगारीको यवस्था गर्ने अवधारणा वनाईएको संयोजक ढकालको भनाई छ । अवधारणाअनुरुप नमुना वस्तीमा उत्पादन गरिएका सीपमूलक वस्तुहरु बिक्रि गर्नका लागि उक्त स्थानमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने गरी योजना वनाईएको छ ।
मध्यपहाडी लोकमार्गले छोएको स्थान तथा नगरपालिकाले नजिकै पर्ने वुइपाको पञ्चरदोवाटोमा विश्वकै अग्लो यलम्वरको प्रतिमासहितको पार्क निर्माणको योजना समेत अघि बढाएकाले नमुना वस्तीसम्म पर्यटक तान्न सकिने विश्वास गरिएको छ । पर्यटन विकासको लागि नगरपालिकाले एकीकृत योजनाहरु वनाईरहेका छन् । राज्यले वनाएको मापदण्डअनुरुप निर्माण गरिने नमुना वस्तीमा २० पीडित तथा ४ अन्य गरी २४ परिवारका लागि नमुना घर वन्ने भएको छ । जसमध्ये १६ वटाको नक्सा पास भईसकेको छ । वस्तीमा घर निर्माण गर्न चाहाने अन्यलाई समेत सःशुल्क तथा निःशुल्क जग्गा उपलब्ध गराउन सकिने जग्गाधनीले जनाएका छन् ।
रमणीय स्थलमा निर्माण हुने वस्तीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने विविध योजना वनाईएको वताईएको छ । वस्ती निर्माण हुने स्थानवाट सुर्योदय तथा सुर्यास्तको दृश्य अवलोकनका साथै टेम्के, रुपाकोट लगगायतका विभिन्न पहाडी श्रृंखलाहरुको समेत दृश्यपान गर्न सकिन्छ ।
एकीकृत वस्ती नजिकै राधाकृष्ण मन्दिर, चिल्ड्रेनपार्क, सीपमूलक सामाग्रीहरु सहितको सामुदायिक भवन, फ्री वाईफाई, होमस्टे तथा सामुहिक खेती प्रणालीको अवधारणा अघि सारेको जनाईएको छ । दशैं, तिहारपछि निर्माणको कामलाई तीव्रता दिईने निर्माण उपभोक्ता समितिले जनाएका छन् ।
एकीकृत नमुना वस्ती निर्माणको लागि नगरपालिकाले यस अघि नै प्रष्ट अवधारणा वनाएकोमा विजयखर्कका स्थानीयले इच्छााशक्ति देखाउनका साथै समन्वयात्मक काममा चासो देखाएकाले काम अघि बढेको नगर प्रमुख दिपनारायण रिजालको भनाई छ । नगरपालिकाले भूकम्प पूर्ननिर्माण प्राधिकरण तथा सम्वन्धित निकायसँग समन्वय गर्नका साथै सुझ–बुझका साथ हात हालिसकेकोले कुनै पनि हालतमा उक्त स्थानमा नमुना वस्ती निर्माण भईछाड्ने मेयर रिजालले प्रष्ट पार्नुभएको छ ।
मेयरका अनुसार अव तत्कालै नगरपालिकाले स्क्याभेटर प्रयोग गरी उक्त स्थानमा लेभलिङको काम गरेपछि डिटेल नक्सा तयार पार्नेछ । डिटेल नक्सापछि नगरपालिकाले प्राधिकरणसँग सम्झौत गरी पूनः निर्माण उपभोक्ता समितिसँग सम्झौता गरी संरचना निर्माण कार्य अघि बढाउनेछ । नमुना वस्तीमा वस्न तयार भुकम्प पीडितले लाभग्राही भए वापत पाउने तीन लाख रुपैंयाँ अनुदान सोही एकीकृत वस्तीमा वन्ने घर निर्माणमै खर्च गरिने प्रष्ट पारिएको छ । नगरपालिकाको ८ नम्वर वडा दोर्पामा पनि एकीकृत नमुना वस्ती निर्माणको अवधारणा वनाईएको छ ।
उल्लासकावीच सिलन्यास
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा उल्लासमय ढंगवाट एकीकृत नमुना वस्तीको शिलन्यास गरिएको छ । नगरपालिको प्रमुख दिपनारायण रिजालले हालै गर्नुभएको सिलन्यास कार्यक्रममा स्थानीयले उल्लास जनाएका छन् ।
कार्यक्रममा नगरपालिका प्रमुख रिजाल, उपप्रमुख विणादेवी राई, कार्यपालिका सदस्य तथा वडाध्यक्षहरु लगायतका जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधि नगरपालिकाको सल्लाहकार कमल ढकाल लगायतका कर्मचारी, शिक्षक, वुद्दिजीवि लगायतको उपस्थिती रहेको थियो । पत्रकार, युवा, विद्यार्थी नेता लगायतका सहभागिता रहेको कार्यक्रममा स्थानीय बृद्दाहरुले संगिनी गीत तथा नाचको माध्यमवाट स्वागत गर्नका साथै एकीकृत वस्ती निर्माणमा साथ सहयोग गर्न अपिल गरेका थिए ।