खोटाङ साउन–३०, कोरोना सङ्क्रमण रोकथाम तथा न्युनिकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र १० दिनको लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण दर बढ्दै गएपछि भदौ १ गतेदेखि नगरपालिका कडाईका साथ बन्द गर्ने निर्णय भएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा सञ्चालित हाटबजार, होटल तथा पसल, सरकारी तथा गैंरसरकारी कार्यालय लगायतमा अनियन्त्रित भीडभाड बढेकाले बन्द गर्नु परेको जनाईएको छ ।

बन्दका क्रममा आवश्यक पर्ने खाद्यान्न, तरकारी, औषधि, ग्याँस लगायतका दैनिक उपभोग्यवस्तु तथा सामग्रीको त्यस अगावै व्यवस्था मिलाउन नगरबासीलाई आग्रह गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । जिल्लास्थित राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय, पत्रकार, उद्योग व्यवसायी, यातायात व्यवसायी, होटल व्यवसायी, टोल सुधार समिति लगायतको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

दोश्रो भेरियण्टपछि पहिचान भएकामध्ये जिल्लामा हालसम्म २३ सय ६७ जना सङ्क्रमित निको भएका छन् भने ३ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा ११ जनाको सङ्क्रमणबाट मृत्यू भएको छ । दोश्रो लहरपछि निशेधाज्ञा घोषणा नगरिएको जिल्लामा अधिकांश सर्बसाधारण स्वस्फूर्त रुपमा घरभित्रै बसेका थिए ।

जिल्लाभर नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पछिल्लो समय पुनः ‘तपाईको मास्क खोइ ?’ अभियान शुरु गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका दशवटै स्थानीय तहमा अभियान शुरु गरिएको हो ।