खोटाङ, ९ बैसाख । खोटाङकै प्रतिष्ठित फुटबल प्रतियोगीता ‘बाक्सिला गोल्डकप’मा शान्तिनगर फुटबल क्लव इटहरी सेमीफाईनल प्रबेश गरेको छ । स्थानीय पृथ्बी उच्च माबि बाक्सिला खेलमैदानमा बिहिबार सञ्चालित क्वाटरफाईनलको खेलमा सोल्मा स्पोर्टस क्लव दिक्तेललाई शुन्यका बिरुद्ध २ गोल गर्दै इटहरीले सेमीफाईनलको यात्रा तय गरेको हो ।
प्रतियोगीतामा थप तीन क्लव क्वाटरफाईनल प्रबेश गरेका छन् । बाक्सिला गाबिस ‘ए’ले दिक्तेल नगरपालिकालाई शुन्यकाबिरुद्ध १ गोल, जालपा गाबिसले बाक्सिला गाबिस ‘बी’लाई शुन्यका बिरुद्ध ३ गोल र बाँसपानी गाबिसले बाक्सिला गुम्बालाई शुन्यका बिरुद्ध २ गोल गर्दै क्वाटरफाईनल प्रबेश गरेको आयोजक बाक्सिला फुटबल क्लवका अध्यक्ष समीर राईले बताउनुभयो ।

फुटबल आफ्नोपक्षमा पार्ने प्रयास गर्दै सोल्मा स्पोर्टस क्लव (निलो) र शान्तिनगर फुटबल क्लव इटहरी (रातो)का खेलाडी । 
तस्बिरः हाम्रोखोटाङ डटकम 
यसअघि, बुईपा इलाभेन स्पोर्टस् क्लव बुईपा, सोल्मा स्पोर्टस क्ल्व सोल्मा, शान्तिनगर फुटबल क्लव इटहरी, सप्तेश्वर र खोटाङबजार गाबिस क्वाटरफाईनल प्रबेश गरिसकेका छन् । जिल्ला तथा जिल्लाबाहिरका गरी १७ टिमले प्रतिष्पर्धा गरिरहेको प्रतियोगीताका बिजेता टिमले एक लाख ५० हजार मूल्यको कप, नगद पुरस्कार, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उपबिजेता सहित सेमीफाईनलिस्ट टिमलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले जानकारी दिनुभयो ।

जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि आयोजना हुँदैआएको ‘बाक्सिला गोल्डकप’ हप्ता दिनसम्म सञ्चालन हुने छ । २०६१ सालदेखि निरन्तर ८ औं संस्करण गराएको क्लबले तीन वर्षको ग्यापमा गोल्डकपलाई निरन्तरता दिएको हो ।