बेलायत, हङकङ तथा स्थानीय समाजसेवीहरुको पहल
रामधन राई, 
खोटाङ, १५ बैशाख। खोटाङ बाक्सिलामा भएको आगालागी पीडितहरुका लागि १४ लाख रुपैंयाँ बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ । जिल्लाको उत्तरी गाविस बाक्सिला–२ का ९ घर, बाक्सिला–५ का एक, बाक्सिला–४ का एक र सप्तेश्वर ३ का एक घर आगालागी पीडितलाई सो रकम बराबरको सहयोग प्रदान गरिएको हो । पीडितहरुलाई बेलायतनिबासी, हङकङनिबासी,काठमाण्डौनिबासी तथा स्थानीय समाजसेवीहरुबाट संकलित नगद तथा जिन्सी बुधबार एक बिशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिएको हो । बेलायतमा आर्थिक संकलन अभियानमा सक्रिय बेलायती सेनाबाट रिटायर्ड फेदी–१ का रोशन राई (भबिन) प्रमुख अतिथि तथा सहयोगदाता ब्रिटिस क्याम्प काठमाण्डौमा कार्यरत शेरबहादुर तामाङ, राजनीतिक दल, समाजसेवीलगायतका आतिथ्यमा सहयोग प्रदान कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सभापति स्थानीय पृथ्बी उच्च माबि बाक्सिलाका शिक्षक टेक क्षेत्रीले जानकारी दिनुभयो । 

क्षेत्रीका अनुसार रिटायर्ड बेलायती सेना रोशन राई (भबिन)को सक्रियतामा संकलन गरिएको रकमबाट ११ घरलाई प्रतिघर ५ बण्डलका दरले जस्तापाता र एक मुष्ट एक लाख रुपैंयाँ उपलब्ध गराईएको हो । यस्तै, हङकङबासी नेपालीहरुबाट संकलित ४ लाख ५२ हजार २ सय ८ रुपैंयाँ, प्याराडाईज मेनपावर कम्पनी सञ्चालन गरी काठमाण्डौमा बसोबास गरिरहनुहुने समाजसेवी बाक्सिलाकै नवराज केसीबाट ५० हजार नगद र बाक्सिला ४ का ब्यवसायी नृप अधिकारीबाट २ लाख बराबरको लत्ताकपडा गरी १३ लाख ६६ हजार २ सय  रुपैंयाँ बराबरको सहयोग १३ घरकै पीडितलाई प्रदान गरिएको छ ।

गत फागुन ८ गते बाक्सिलाका पिपलडाँडाँस्थित तामाङवस्तीमा विद्युत सर्ट भएर आगलागी हुँदा एकैसाथ नौं घर र त्यसपछि अन्य ३ घर समेत जलेका थिए । 


आगालागीमा परी पीडित बनेका रत्नकुमार तामाङ, बलबहादुर तामाङ, सीतामायाँ तामाङ, अविराज तामाङ, लक्षुमान तामाङ, लालबहादुर तामाङ, मणिराज तामाङ, झिल्के् तामाङ र चुच्चे तामाङको घर जलेर नष्ट भएको थियो । त्यस्तैलगतै, बाक्सिला ५ का तिङग तामाङ, सप्तेश्वर ३ का सार्जन राई र बाक्सिला ४ कै मीतबहादुर श्रेष्ठको आगलागीबाट घर जलेर नष्ट भएका थिए । 

पीडितमध्ये मीतबहादुरबाहेकलाई जस्तापाता , लत्ताकपडा र नगद प्रदान गरिएको छ भने मीतबहादुर तामाङलाई समेत हङकङबाट प्राप्त सहयोग प्रदान गरिएको जनाईएको छ । आगालागीबाट घरहरु जलेर नष्ट हुँदा ६० लाख बढीको क्षति भएको प्रहरीले जनाएको थियो ।