
खोटाङ साउन–२८, खोटाङस्थित प्रमुख ब्यापारिक केन्द्र दिक्तेलबजारको कच्ची सडकमा दोश्रो चरणको ढलान कार्य अघि बढाईएको छ । गत बर्ष ढलान गर्न बाँकी रहेका सिचाईँ गेटदेखि नेपाल टेलिकमसम्म ७ सय ६४ घनमिटर सडक ढलान र ४ सय ५३ घनमिटर ग्याभिङ वालको कार्य अघि बढाईएको हो ।
कोरोना महामारीकै समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य अपनाउने गरी निर्माण कार्य अघि बढाईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख लागतमा साउन २६ गते सुरु गरिएको ढलान कार्य कोरोनाको कारण नरोकिने जनाईएको छ ।
सुर्य विकास जेभी लाहानले २०७८ मङ्सिर मसान्तमा निर्माण सम्पन्न गर्नेगरि २०७८ असार ९ गते उक्त कार्यको सम्झौता गरेको थियो । नियमित रुपमा अनुगमन गर्दा गुणस्तरयूक्त र स्टिमेट बमोजिम काम नभएको पाईए तत्काल कारबाहीको प्रक्रिया अगाडी बढाउने नगरप्रमुख रिजालको भनाई छ ।
गत आर्थिक वर्ष दिक्तेलबजारस्थित रत्नपार्कको किरातचोकदेखि सिचाइँ गेटसम्म आरसिसी ढलान गरिएको थियो । उक्त सडक खण्ड ढलानको काम गुणस्तरहीन भएको भन्दै दिक्तेल बजारबासीले असन्तुष्टी जनाएका थिए । यस्तै, त्रिबेणीचोकदेखि मालपोत कार्यालय अगाडिसम्म र पुरानो बैङ्कचोकदेखि झिसेपु मन्दिर जाने सडक खण्ड यसअघि नै सम्पन्न भएर सञ्चालनमा आएको छ ।
बजार क्षेत्रभित्रैको कच्ची सडक बर्षयाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।