खोटाङ, २४ बैसाख । भ्रामक सामग्री पोष्ट गर्ने अनलाइनले पत्रकारिताको मर्म बिगारेको खोटाङमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवशरमा शुक्रबार आयोजित ‘खोटाङको पत्रकारिता’ विषयक अन्तरक्रीयामा सहभागीहरुले अनलाइनमा अपूष्ट र भ्रामक सामग्री पोष्ट गर्नेक्रम बढ्दा पत्रकारितको गरिमालाई बिगारेको बताएका हुन् । नेपाल पत्रकार महासंघका जिल्ला अध्याक्ष अध्यक्ष दमन राईले प्रस्तुत गरेको ‘खोटाङ पत्रकारिता’ विषयक कार्यपत्रमाथि टिकाटिप्पणी गर्दै सहभागीले निष्पक्ष र यतार्थ पत्रकारिताको खाँचो औंल्याएका छन् ।
पत्रकारिता दिवसमा दिक्तेलमा आयोजित कार्यक्रममा सहभागीहरु ।

पत्रकारिताको नाममा गरिने जथभाबी पोष्टका कारण अनलाइनप्रतिको बिश्वसनीयता गुम्दैगएको स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । ‘मनपरी राखिने सामग्रीका कारण अनलाइनले पत्रकारिताको मर्मलाई धमिल्याइरहेको छ,’ पाण्डेले भन्नुभयो, ‘अनलाइनमा भेटिएको सुचना सही हो की होइन भनेर पत्रपत्रिका हेर्नुपर्ने बाध्यता छ ।’ समाजमा भ्रम र त्रास सिर्जना गर्दै जथाभाबी चलेका अनलाइनलाई कानूनी दायरामा ल्याउन स्वयं पत्रकार लाग्नुपर्ने पाण्डेको सुझाव छ ।

सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्यले पत्रकारिताले सत्यताभन्दा बाहिर जान नहुनेमा जोड दिनुभयो । आचार्यले पत्रकारको पहिलो प्राथमिकता समाजको हितमा हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले निष्पक्ष पत्रकारितामा जोड दिनुभयो । पत्रकार डम्बरसिं राईले समाचारमा सकरात्मक वा नकरात्मक विषयभन्दा यतार्थ कुरा आउने बताउनुभयो । डिएसपी बिद्यानन्द माझीले सँधै सकरात्मक दिशामा अघि बढ्न पत्रकारलाई सुझाव दिनुभयो । कार्यक्रममा बरिष्ठ कृषि बिकास अधिकृत श्यामप्रसाद घिमिरे, दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किराती लगातले बोलेका थिए ।

अन्तरक्रीया अघि शुक्रबार बिहान दिक्तेलमा प्रभातफेरी निकालिएको थियो ।