रामधन राई/खोटाङ,
बैशाख ३१ । भनिन्छ १२ बर्षमा खोलो फर्कन्छ । सोही उखान जस्तै १२ बर्ष अघि निर्माण शुरु गरिएको खोटाङको बुइपास्थित नेपाल बिद्युत प्राधिकरणको सब–स्टेशनको काम सम्पन्न भई प्रयोगमा आउने भएको छ । चार्जको काम सुरु भएको सो सव–स्टेशनबाट हाल सञ्चालनमा रहेको गाईघाट–बुईपा ११ केभी प्रशारणलाइनलाई अपग्रेड गर्दै ३३ केभी प्रशारण शुरु हुने भएको हो । २०६१ सालदेखि ११ केभीलाई ३३ केभी बनाउने काम शुरु भएपनि हरेक वर्ष बिभिन्न बहाना देखाउँदै आयोजनाले ३३ केभी सञ्चालनमा ल्याउन सकेको थिएन ।
प्रशारणलाइनलाई ३३ केभीमा ‘अपग्रेड’ गरिसकिएकाले मंगलबार साँझ सव–स्टेशन चार्जको परीक्षण गरिएको आयोजनाका प्रमुख चन्द्रवीर खड्काले बताउनुभयो । सव–स्टेशन निर्माण ढिलाइ हुँदा बिद्युत अपग्रेडका काममा ढिलाइ भएको थियो ।
गत वर्ष समेत सवस्टेशन चार्ज गर्ने काम भएपनि सवस्टेशन चार्ज हुन नसकेको भन्दै आयोजना अधुरो छाडिएको थियो । खोटाङको फिडर उदयपुरको जलजलेसँग भएका कारण कम भोल्टेज आउने, भनेको समयमा लाईन नआउने, लोडसेडिङ बढि समससम्म हुने, हावाहुरी आउँदा बिद्युत नआउने लगायतका समस्या जिल्लाबासीले झेल्दै आएका छन् । सव–स्टेशन सञ्चालनमा आएपछि खोटाङको फिडर खोटाङमै रहने भएकाले कम भोल्टेज र लोडसेडिङको समस्या हट्ने अपेक्षा गरिएको छ । आयोजनाका अनुसार ३३ केभी बिद्युतमध्ये खोटाङमा दुई केभीमात्र खपत हुने भएकाले बुइपाको सवस्टेशनमार्फत ओखढुङगालाई पनि बितरण गरिने जनाईएको छ ।