खोटाङ, ७ जेठ । खोटाङ जिल्ला खुला दिशामुक्त जिल्ला घोषणा भएको छ । ७२ गाबिस र एक नगरपालिका रहेको जिल्ला सुक्रबार खुला दिशामुक्त जिल्ला घोषीत भएको हो । गाबिसलाई गत बैशाख –१६ गतेअघि तथा नगरपालिकालाई चैत्र–७ गते खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको जिल्लालाई खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंले ३५ औं जिल्लाकारुपमा खोटाङलाई सुक्रवार खुला दिशामुक्त घोषणा गरेका हुन् ।
सन् २०१५ भित्रै जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने गरी अभियान चलाइएपनि विविध कारणले सन् २०१६ मा मात्र जिल्ला खुला दिशामुक्त घोषित भएको हो ।
खुदिमु कार्यक्रमका प्रमुख अथिति मन्त्री सिंहले कार्यक्रमलाई संबोधन गर्दै यहि असार १५ गते आउने बजेटबाट जिल्लाका खानेपानीको बिकासलाई उच्च प्राथामीकतामा राख्ने बताए । कार्यक्रमलाई संबोधन गर्दै उनले पर्यटकिय स्थल हलसीक्षेत्रलाई खानेपानीको व्यवस्था मिलाउँनका लागि पम्पीङ आयोजना यसै आर्थिक वर्षबाट सुरु गरिने, मेवाखोलाबाट सदरमुकाम दिक्तेलमा पम्पीङ प्रबिधिमार्फत पानी ल्याउनका लागि २० लाख छुट्टिसकेकोले आउँदो आर्थिक वर्षभीत्रमा आयोजना सफल बनाउँमा बाक्लो बजेटको व्यवस्था गर्ने बताए । उनले जिल्लाभरी खानेपानीको दयनीय अवस्था रहेकोले व्यवस्थापनका लागि आफु सदैव सहयोगी बन्ने जिकीर गरे । मन्त्री बोलीरहेका वेला स्टेज भत्किएपछि कार्यक्रम सकिएको छ ।
कार्यक्रम बिथोलियो अविरल वर्षाले
जिल्लालाई खुदिमु घोषणाको कार्यक्रम भइरहेको समयमा परेको अविरल वर्षाले कार्यक्रम बिथोलिएको छ । दिक्तेलबजारस्थित हेलीप्याडमा आयोजना गरिएको कार्यक्रम वर्षाका कारण बिथोलिएको हो । कार्यक्रम सुरु भएको केहि समयपछि वर्षाद भएपछि मन्त्रीले कार्यक्रमलाई सक्न भन्दै मन्तव्य दिईरहेकावेला स्टेज भत्कीएपछि कार्यक्रम बिथोलिएको हो । अन्य अथिति राजनैतिक दलका प्रमुख लगायतले कार्यक्रममा वोल्न पाएनन् । अविरल वर्षासंगै आएको हावाहुरीले स्टेजमाथि लगाईएको पाल खसेपछि पालमा जमेको पानीले मन्त्री सिंह भिजेर निथु्रक्क बनेका थिए । संवोधन गरिरहेकावेला स्टेज भत्किएपछि मन्त्री सिंहले आफु खानेपानी मन्त्री भएकोले पनि पानी परेर कार्यक्रमलाई सफल बनाएको बताए । उनले खुदिमु क्षेत्र घाषित भएपनि त्यसलाई अति आवश्यक पर्ने पानी भएकाले जिल्लाको खानेपानी बिकासका लागि आफु सकारात्मक रहेको बताए । वर्षाका कारण कार्यक्रमको सेड्युल भन्दा फरक गरि जिल्लालाई खुदिमु जिल्ला घोषित गरिएको छ
पुर्वमा भोजपुर जिल्ला पश्चिममा ओखलढुङगा उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपूर रहेको १५ सय ५१ वर्ग किलोमीटर क्षेत्रफलमा रहेको खोटाङ खुला दिशामुक्त गर्ने ३५ औं जिल्लामा परेको छ ।
खोटाङलाई खुला दिशामुक्त जिल्ला घोषणा गर्दै मन्त्री सिंह । |