खोटाङ १५ जेठ । जिल्ला विकास समिति खोटाङले अनलाइनबाटै कार्यालयको आवश्यक कार्य सम्पादन सुरु गरेको छ । कागजबाट हुने अधिकांश कामलाई जिबिसले ‘डिडिसि स्ल्याक’ नामक अनलाइनमार्फत सम्पादन सुरु गरेको हो । हालसम्म कागजका माध्यमबाट हुने कार्यालयको अधिकांश काम अनलाइनबाट सुरु गरिएको स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताए ।
हालसम्म कागजमा लेखिने र करेक्सन गर्दै अन्तिम रुप दिइने डकुमेन्टलाई अनलाइनमार्फत हेरेर सच्याउनुपर्ने ठाउँमा सच्याएर तयार पार्न थालिएको छ । जिबिसमा केरमेट गर्नुपर्ने वा च्यातेर अर्को कागजात तयार पर्नुपर्ने बाध्यता अन्त्या भएको पाण्डेले जनाए । कागज कमै मात्रामा प्रयोग हुनेभएका कारण अनलाइन कार्यसम्पादन खर्चका हिसाबले पनि सस्तो देखिएको छ । अनलाइनबाट अन्तिम रुप दिइएपछि मात्र कागजातलाई प्रिन्ट गर्ने व्यवस्था मिलाइएको छ ।
अनलाइनमार्फत सुरु गरिएको कार्यसम्पादनका माध्यमबाट एक फाँटका कर्मचारीले तयार पारिरहेका डकुमेन्ट अर्का फाँटका कर्मचारीले हेर्न सक्ने र सच्याउन सक्ने छन् । अनलाइन कार्यसम्पादनकालागि जिबिसले कार्यालयभित्र डिडिसिखोटाङ डट स्ल्याक डट कम नामक अनलाइन तयार गरेको छ । अनलाइन नेटवर्किङका कारण एक फाँटमा तयार पारिएको फाइल चेक गराउन वा हस्ताक्षर गर्न मान्छेलाई कुदाइरहन नपर्ने जिबिसले जनाएको छ । ‘युग र प्रबिधि अनुशार कार्यालयलाई चलाउन अनलाइन कार्यसम्पादन अभ्यास गरिएको हो,’ स्थानीय बिकास अधिकारी पाण्डेले भने, ‘खर्चका हिसावले पनि अनलाइन कार्यसम्पादन सस्तो पर्ने रहेछ ।’
सेवाग्राहीको जिबिस र गाबिससँग सम्बन्धित गुनासो सुन्नकालागि जिबिसले बैसाखदेखि एसएमएस सेवा सुरु गरिसकेको छ । कार्यालयको काममा हुने आलटाल, सामाजिक सुरक्षा भत्ता वितरणमा हुने अनियमितता, योजना सञ्चालनमा भइरहेका ढिलासुस्ती लगायतका विषयमा सुचना लिन र समस्य समाधानकालागि जिबिसले एसएमएस सेवा सुरु गरेको हो । गुनासो पठाउनकालागि मोबाईलको मेसेज बक्समा गएर स्मल लेटरमा डिडिसि टाईप गरि एक स्पेश दिएर ३७००१ मा पठाउन सकिने जिबिसले जनाएको छ । कार्यालयको पारदर्शीताकालागि जिबिसले यसअघि डिजिटल सुचना बोर्ड सञ्चालनमा ल्याइसकेको छ । यसबाहेक जिबिसले कार्यालयमै आएर लिखित गुनासो तथा सुझाव दिनकालागि छुट्टै व्यवस्था गरेको छ ।