तालिम र अध्ययनको सट्टा किसानलाई डकुमेन्ट्रीकै माध्यमबाट बेमौसमी गोलभेडा खेतीका बिषयमा जानकारी दिने उद्धेश्यले निर्माण गरिएको डकुमेन्ट्री आईतबार कृषि बिकास कार्यालयको हलमा कृषि प्रसार अधिकृत भरतलाल यादवले सार्वजनिक गरे । २३ मिनेट २० सेकेण्डको डकुमेन्ट्रीमा बेमौसमी गोलभेडा खेतीको नर्सरी स्थापनादेखि बजार व्यवस्थापनसम्मका प्रबिधिहरुको झलक समेटिएको खोटाङ कृषि फार्मका प्रबन्धक रहेका निर्माता गंगाबहादुर बिश्वकर्माले बताए । डकुमेन्ट्रीमा बेमौसमी गोलभेडा रोप्ने तरिका, थाँक्रा दिने तरिका, गोडमेल गर्ने, विषादि हाल्ने, फल टिप्ने, भण्डारण गर्ने र बजार लैजानेसम्मका बिधि र सीपको दृश्या हेर्न सकिन्छ । डकुमेन्ट्रीलाई कृषि सम्बन्धी बनेको जिल्लाकै पहिलो मानिएको छ । डकुमेन्ट्री वर्षको असारदेखि मंसिरकोबीचमा उत्पादन गरिने गोलभेडा खेतीमा केन्द्रीत छ ।
डकुमेन्ट्री सार्वजनिक कार्यक्रममा सहभागीहरु । |
जिल्लामा बेमौसमी गोलबेँडा खेतीको सम्भावना र यसप्रति कृषकको बढ्दो मोहलाई मध्यनजर गर्दै डकुमेन्ट्री निर्माण गरिएको युवा कृषक बिश्वकर्माले बताए । ‘तरकारी तथा नगदेबालीकारुपमा लिइने बेमौसमी गोलभेडाले बजारमा राम्रो मूल्या पाउने गरेको छ,’ बिश्वकर्माले भने, ‘कृषि तथा कृषि सम्बद्ध संघसंस्थाले पनि यसैलाई प्राथमिकता दिएका कारण पनि डकुमेन्ट्रीमा उतार्ने प्रयास गरिएको हो ।’ डकुमेन्ट्रीमा जिल्लाका बिभिन्न कृषि फममा गरिएको खेती सम्बन्धी दृश्यलाई समेटिएको छ ।
डकुमेन्ट्रीलाई किरात मिडिया एण्ड कम्यूनिकेसन प्रालिले बजारमा ल्याएको हो । भिडियो डकुमेन्ट्री किसानकालागि पाठशाला सरह उपयोगी हुने कार्यक्रममा सहभागीले बताएका छन् । कृषि बिकास कार्यालयको प्रोत्साहनमा कन्ये च्याउको खेती सम्बन्धी अर्को डकुमेन्ट्री तयार गर्ने बिश्वकर्माले जनाए । १० वर्षदेखि गोलभेँडा खेती, माछा पालन, कृषि सम्बन्धी तालिम, जेटिए अध्यापन, च्याउ उत्पादन गर्दै आएको फार्मले बार्षिक २ देखि ३ लाख आम्दानी गर्दैआएको जनाएको छ ।