खोटाङ २१ जेठ । द्धन्द्धकालमा सुरक्षाका कारण बन्द रहेको छिमेकी जिल्ला ओखलढुंगाको मानेभन्ज्याङमा राष्ट्रिय वाणिज्य बैंकको सेवा सुरु भएको छ ।
२०५८ सालमा सशस्त्र जनयुद्धको समयमा सुरक्षाका कारण बन्द रहेको बैंकिङ सेवा बिहीबारबाट सुरु गरिएको वाणिज्य बैंक, क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख गोपाल पौडेलले जानकारी दिनुभयो ।

बैंकको सेवा सुरु भएसँगै आसपासका आधा दर्जन गाविस लाभान्वित हुने भएका छन् । स्थानीय अगुवा, व्यापारी लगायतको उपस्थितिमा बैंकको बिहीबारदेखि सेवा सुरु गरिएको हो ।
नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य किशोर अधिकारीले वाणिज्यको सेवा सुरु भएकाले अब घुर्मी, जयराम लगायतका व्यापारी तथा बासिन्दालाई बैंकिङ सेवामा सहजता मिल्ने बताउनुभयो । 
उक्त क्षेत्रमा टेलिफोनको समस्या रहेको र  सफ्टवेयरबाट काम गर्नुपर्ने हुँदा समस्या हुने भएको उल्लेख गर्दै उनले टेलिफोनको समस्या पनि चाँडै हल गर्न पहल भईरहेको पनि जानकारी दिनुभयो ।