खोटाङ, असार २० । जिल्ला प्रहरी कार्यालय खोटाङले बोक्सीको आरोप लगाउँदै एकल बृद्धामाथि कुटपिट गर्ने दोषीले उन्मुक्ती नपाउने बताएका छन् ।
डिएसपी माझी |
बोक्सीको आरोप लगाउँदै ७२ वर्षीय बृद्धामाथि निर्घात कुटपिट गर्ने च्यानडाँडा–१ का धनगन्ज राई दम्पत्तीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताएका छन् । जेठ–१३ गते धान कुट्ने मिलको पैसा फिर्ताका विषयमा भएको बिवादपछि वृद्धालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने राई दम्पत्तीले कानून अनुसार उन्मुक्ती नपाउने डिएपी माझीको भनाई छ । दोषीलाई पक्राउ गर्न नसकिएको र दोषीका विरुद्ध कमजोर मुद्धा चलाएको आरोप लागिरहेको अवस्थामा प्रहरीले दोषीमाथि जुनसुकै हालतमा कारबाही हुने बताएको हो । प्रहरीले दोषी बिरुद्ध ‘केही सार्वजनिक अपराध’ मुद्धा चलाइएको छ । घटनापछि आरोपित दम्पत्ती हालसम्म फरार रहेकाले उनीहरुको खोजी भइरहेको माझीले जानकारी दिनुभयो । उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयले ‘स्पेशल’ टिम परिचालन गरेको छ ।
पिडितले दिएको जाहेरीमा सार्वजनिक अपराध उल्लेख गरिएका कारण आरोपित बिरुद्ध सोही अनुसारको मुद्धा चलाइएको प्रहरीको स्पष्टोक्ती छ । ‘हामीले जाहेरीमा उल्लेख भए अनुसार दोषीबिरुद्ध मुद्धा चलाएका हौँ,’ माझीले भन्नुभयो, ‘फरार रहेका दोषीको खोजीका लागि प्रहरीको स्पेसल टिम परिचालन गरिएको छ ।’ बोक्सी भएकै कारण नाबालक छोरालाई बोल्न नसक्ने बनाएको भन्दै बृद्धामाथि कुटपिट गरिएको थियो । पिडितका आफन्तले भने दोषीबिरुद्ध कमजोर मुद्धा चलाइएकाले उन्मुक्ती पाउने भन्दै प्रहरीको आलोचना गर्दै आएको छ ।
स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि दोश्रो दिन जिल्ला अस्पताल दिक्तेल पु¥याइएका बृद्धाको टाउकोमा ७ टाँका लगाइएको आफन्तले बताएका छन् । कुटपिटबाट उनको टाउको र हातखुट्टामा चोट लागेको थियो ।
डिएसपी माझीको नेतृत्वमा रहेको खोटाङ प्रहरीले मिलेमतोमा मुद्धा कमजोर चलाएको र दोषीलाई पक्राउ गर्न तत्तपरता नदेखाएको आरोप पीडित पक्षले लगाएका छन् ।
खोटाङका सांसद विशाल भट्टराईले समेत घटनापछि प्रहरीको कार्यप्रति प्रश्न उठाउँदै प्रहरीले कमजोर मुद्धा चलाएकोप्रति आपत्ति जनाउँदै आएका छन् ।