खोटाङ, असार २४ । निर्घात कुटपिटपछि गम्भीर घाईते भएका मात्तिम–७का ६१ वर्षिय दीपबहादुर खत्रीलाई उपचारका लागि काठमाडौं लगिएको छ । स्थानी यूवाहरुले बिना कारण विहीवार साँझ निर्घात कुटपिट गरेपछि गम्भीर घाईते भएका खत्रीको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि हेलीकोप्टरमार्फत थप उपचारका लागि सुत्रबार काठमाडौं लगिएको हो ।
खेतमा काम गरिरहेका खत्रीलाई मादकपदार्थ सेवन गरेका स्थानीय गोकर्ण राई, सुमन राई, रोजन राई, अमृत राई र सविन राईले निर्घात कुटपिट गरेका थिए । पानीको विषयमा निहुँ खोजेर उनिहरुले खत्रीमाथी ढुङगा, मुडा र लाठीको प्रयोग गरेर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानवासीले छुट्याउने प्रयास गरेपनि मादक पदार्थ सेवन गरेका कारण खत्रीलाई मरणासन्न हुने गरि कुटपिट भएको उनिहरुको दावी छ ।
खत्रीको टाउको आँखा र पेटमागहिरो चोट छ । पेटमा ठुलो ढुङगाले किचेका कारण खत्रीको अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पताल खोटाङले जनाएको छ । कुटपिट पछि अभियुक्तहरु फरार रहेका छन् । कुटपिट हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिए पनि पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए । उनका अनुसार, पीडितले दिएको जाहरीका आधारमा उनीहरुको खोजीकार्य भईरहेको छ । पीडित परिवारले जिल्लाप्रहरी कार्यालयमा पीडक बिरुद्ध जाहेरी दिईसकेका छन् । उनिहरु गाँउमा गुन्डागर्दी गर्दै हिडने गरेको एक स्रोतले बताएको छ ।
गत वर्षमात्र सोहि ठाँउका ३२ वर्षिय रविन्द्र राईलाई गोकर्ण राईले धारिलो हतियार प्रयोग गरेर घाईते बनाएका थिए । राईलाई घाईते बनाएपछि गोकर्णलाई आगामीदिनमा गुन्डागर्दी नगर्ने सर्तमागाँउमै मिलापत्र गराईएको थियो । गुण्डागर्दी गर्दै हिड्ने उनिहरुको समूहमध्ये गोकर्ण नाईके रहेको जनाईएको छ ।