खोटाङ, साउन २ । उद्योग बाणिज्य संघ खोटाङले किसानलाई अलैंचीको बिरुवा बाँडेको छ ।
व्यवसायीकरुपमा अलैंची खेतीमा लागेका जिल्लाका किसानलाई छनौट गरी अलैंचीको पाँच हजार बोट बिरुवा बितरण गरिएको हो ।
व्यवसायीकरुपमा अलैंची खेतीमा लागेका किसानको मागलाई मध्यनजर गर्दै एकीकृत व्यापार रणनिती कार्यक्रम अन्तरगत अलैंचीको बिरुवा बाँडिएको उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । बाणिज्य संघले शनिबार रामसाई जातको अलैंचीको बेर्ना बितरण गरेको हो । अलैंचीको बेर्नाको अभाव झेलीरहेका जिल्लाका ३० किसानलाई बेर्ना बाँडिएको बाणिज्य संघले जनाएको छ । अलैंचीका व्यवसायीक किसानबाट बेर्ना खरिद गरेर अन्य किसानलाई बाँडिएको हो । बाणिज्य संघको कार्यालयमा अलैंचीको बेर्ना लिन आउने किसानको भीड लागेको थियो ।
यस्तै, यस वर्ष जिल्ला कृषि बिकास कार्यालयले अलैंचीको ३ लाख २२ हजार बोट बिरुवा बाँडेको छ ।
अलैंचीतर्फ किसान आकर्षित हुँदैगएको अवस्थामा कृषिले दुई चरणमा अलैंचीको बेर्ना बितरण गरेको हो । सरकारी र निजी कृषि फर्ममा उत्पादित बेर्ना गरी यस वर्ष जिल्लामा ८ लाख बढि बेर्ना बितरण भएको जिल्ला कृषि बिकास कार्यालयका प्रास कौशलकुमार यादवले बताए । ‘कृषिले मात्र तीन लाख बढि बेर्ना बाँडेको छ, व्यक्तीगत कृषि फर्मबाट पनि उत्तिकै मात्रामा बेर्ना गएको छ,’ प्रास यादवले भने, ‘कृषि र निजी गरी करिब ८ लाखभन्दा बढि बेर्ना वितरण भएको अनुमान छ ।’
प्रतिमन ८० हजार भन्दा बढि मूल्यामा घरैबाट बिक्री हुन थालेपछि जिल्लाका किसान अलैंची खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाको ६४ गाविसको १ हजार १५० हेक्टर क्षेत्रमा अलैंचीको खेती गर्न सकिने सम्भावना भएपनि हाल हाल ९४० हेक्टरमा खेती हुँदै आएको छ ।
उद्योग बाणिज्य संघले बिरण गरेको अलैंचीको बिरुवा छान्दै किसान ।
|