खोटाङ, ४ साउन । खोटाङका राजनैतिक दलले खोटाङमा १३ वटा गाउँपालिका प्रस्ताव गरेको छ । गाउँ पालिकाको सिमा र संख्याको बिषयमा बहस तथा छलफलकालागि स्थानीय शान्ति समितिको संयोजनमा बसेको सर्वदलीय बैठकले जिल्लामा १३ वटा गाउँपालिका प्रस्ताब गरेको हो । गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको मापदण्ड अनुशार बढिमा ५ वटा गाउँपालिका र दुई वटा नगरपालिका रहने भनिएको जिल्लाका १३ वटा ईलाकालाई नै गाउँपालिका बनाइनुपर्नेमा सबै राजनैतिक दलले निर्णय गरेको स्थानीय शान्ति समितिका संयोजक श्यामराज राईले बताए । पाँच वटा मात्र गाउँपालिका बनाइए भौगोलिक बिकटताका कारण सर्वसाधारणले कुनै नयाँपन अनुभूती गर्न नसक्ने भएकाले गाउँपालिकाको संख्या बढि प्रस्ताव गरिएको हो ।
आकारमा पनि छिमेकी जिल्ला ओखलढुंगा, सोलुखुम्बु र भोजपुरभन्दा ठूलो भएकाले पनि खोटाङमा गाउँपालिका बढि हुनुपर्ने दलका नेताहरुले बताएका छन् । हरेक दलका आ–आफ्नै सिमाना, संख्या र खाका भएपनि जिल्लाका दलहरु एक ठाउँमा बसेर संयुक्तरुपमा गाउँपालिकाको प्रस्ताव तयार पारेका हुन् । ‘गाउँपालिकाबाट सेवा लिन जनतालाई एक दिन हिँड्नैपर्ने अवस्था आयो भने नयाँ संरचनाले खास अर्थ राख्दैन,’ संयोजक राईले भने, ‘हामीले भौगोलिक बिकटतालाई मध्यनजर गर्दै गाउँपालिका प्रस्ताव गरेका हौँ ।’ कम्तीमा १३ गाउँपालिका बनाउनकालागि आईतबार स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेमार्फत आयोग समक्ष माग पठाइएको शान्ति समितिले जनाएको छ । आयोगले जिल्ला बिकास समितिमार्फत साउन–७ गतेभित्र स्थानीय तहको संख्या र सिमानाको विषयमा सुझाव पठाउन आग्रह गरे अनुशार राजनैतिक दलले संयुक्तरुपमा सुझाव पठाएका हुन् ।
स्थानीय बिकास अधिकारी पाण्डे संयोजकत्वको स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले स्थानीय तह पुःर्नसंरचनाका बिषयमा बिभिन्न क्षेत्रका बिज्ञसँग छलफल तथा परामर्शलाई जारी राखेको छ ।