खोटाङ साउन–१२, खोटाङमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा सदस्य लगायत तीन जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । दिक्तेल रुपाकोट मझूवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्य तथा सरस्वती माध्यमिक बिद्यालय पाथेकाको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष पर्शुराम बानियाँ लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

अबैध भरुवा बन्दुक र खरखजना लुकाई राखेको भन्ने गोप्य सुचनाको आधारमा सोमबार बेलुकी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्शुरामसँगै सोही ठाउँका मदनबहादुर बानियाँ र मिलन बानियाँलाई पक्राउ गरेको हो । तीनै जनाको घरमा खानतलासी गर्दा बारुद तथा छर्रा लोड गरेको अबस्थाको एक–एक नाल भरुवा बन्दुक र आवश्यक खरखजना फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनालाई ७ दिनको म्याद थप गरी हातहतियार तथा खरखजनाको मुद्दा अन्र्तगत अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गजमेरले उल्लेख गर्नुभयो । ।