खोटाङ, साउन ११ । खोटाङको हलेसीमा एक महिने ‘बोलबम’ मेला शुरु भएको छ । पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसीमा साउनभर लाग्ने बोलबम मेला साउनको पहिलो सोमबारदेखि शुरु भएको हो । 
मनोकांक्षा पूरा हुने बिश्वासमा हलेसीमा साउनको प्रतेक सोमबार बिभिन्न नदीबाट ल्याईएका जल चढाउने गरिन्छ । साउने संक्रान्तीको अवशरमा हलेसीमा देश तथा बिदेशबाट आएका हिन्दु धर्मावलम्बीले नुहाएर ब्रत गर्दै महादेब, पार्वती र गणेशलाई नदीको जल चढाइरहेका हलेसी मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । साउन लागे यता हलेसीमा गेरुबस्त्र लगाएका दर्शनार्थीको बाक्लो भीड लागीरहेको छ । हलेसीमा दर्शनार्थीको दैनिकजसो भीडभाड भएपनि सोमबारका दिन सबैभन्दा बढि भीड लाग्ने गरेको राईको भनाई छ । अध्यक्ष राईका हरेक सोमबार पाँच सयदेखि दुई हजार दर्शनार्थीहरुले हलेसीमा ब्रत गर्दै जल चढाएका छन् । ‘झरी पर्दापनि दर्शनार्थी आउन छाडेका छैनन्,’ अध्यक्ष राईले भन्नुभयो, ‘दर्शनार्थी चढेर आएको बाईक पार्किङ गर्ने ठाउँकै अभाव भइरहेको छ ।’ 
बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलीङ, गान्तोक, भुटान, चिनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेको हलेसी मन्दीर व्यवस्थापन समितिले जनाएको छ ।