खोटाङ १६ साउन । भारी वर्षाका कारण खोटाङ कारागार पहिरोको उच्च जोखिममा परेको छ । वर्षाका कारण उत्तर–पुर्वतर्फ गएको पहिरोले कारागार जोखिममा परेको हो ।
करिब ५० मिटर फराकिलो र सय मिटर लम्बाई भएको पहिरोले कारागारको मख्य भवन र सुरक्षाकर्मीको दुई कोठे भवनको जग नै लगेपछि खतरा बढेको जेलर चित्राखर आचार्यले बताए ।
आईतबार बिहान गएको पहिरोले कारागारको पक्की कम्पाउण्ड र ढल समेत बगाएको छ । पहिरोको दायाँबायाँ कम्पाउण्डको करिब ९/१० मिटर खण्ड लच्किएको छ । कारागारको जग र पेटी पहिरोले लगेपछि त्यसको ठीक भित्रपट्टि राखिएको महिला कैंदीबन्दी सबैभन्दा जोखिममा परेका छन् । पहिरोले ट्वाईलेटको सेफ्टी ट्यांक फुटेकाले दुर्गन्ध फैलिएको छ । वर्षा नरोकिए कारागारका महिला कैंदीलाई कोठामा सार्नुपर्ने खतरा बढेको आचार्यले जानकारी दिनुभयो ।
कारागारमा अहिले ९४ पुरुष, १४ महिला र ५ आश्रित बालबालिका राखिएका छन् । भवन निर्माण गर्नेक्रममा माटो फिलिङ गरेर पर्खाल लगाएका ठाउँमा भवन बनाइएकाले पहिरो गएको बताइएको छ ।