खोटाङ, साउन १७ ।  खोटाङको स्थानीय तहको पुर्नसंरचनाको खाका हचुवाको भरमा प्रस्ताब गरिएको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ । गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले आवश्यकताभन्दा कम गाउँपालिकाको संख्या तोकेको भन्दै कांग्रेसले बिरोध जनाएको हो । 
हल्का तरिकाले गाउँपालिका र नगरपालिकाको संख्या तोकेर छलफलअघि बढाइएको भन्दै कांग्रेसले आपत्ती जनाएको हो । आयोगले खोटाङमा एक नगरपालिकासहित ९ वटा गाउँपालिका र नगरपालिका रहने प्रस्ताव गरेको छ । गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित क्षेत्र निर्माण, सिमाना र सिमाना निर्धारणका आधार र मापदण्डका बिषयमा सबैको साझा बुझाई र धारणा सिर्जनाकालागि सोमबार आयोजित जिल्ला स्तरिय गोष्ठीलाई बीचैमा बहिस्कार गरेर छाडेको कांग्रेसले प्रस्ताबित ९ गाउँपालिकाले खोटाङ्गे नागरिकको अधिकार सुनिश्चित गर्न नसक्ने दाबी गरेको छ । 
कांग्रेसका जिल्ला सभापति नरेश श्रेष्ठले सोमबार साँझ बिज्ञाप्ती प्रकाशित गरी जिल्लाको क्षेत्रफल र भूगोल अनुशार स्थानीय संचरचनाको संख्या बढाएर मात्र छलफल प्रकृया अगाडि बढाउन अनुरोध गरेका छन् । कांग्रेसले मंगलबारबाट सुरु गरिने सुझाव संकलन लगायतका कार्य स्थगित गर्न चेतावनी दिएको छ । सशर्त ढंगबाट माग गरिएको खाका र छलफलको प्रकृया नै षडयन्त्रमूलक रहेको कांग्रेसले भनेको छ । आग्रहलाई बेवास्ता गरे त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सम्बद्धपक्ष नै हुनेपर्ने बिज्ञाप्तीमा भनिएको छ ।