
खोटाङ असोज–२४, नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्वसांसद टंक राईले बर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभएको छ । पुर्वसांसद राईले दुई तिहाई मत भएको सरकारसँग जनताले वढी नै कामको अपेक्षा गरे पनि सरकारले सो अनुरुप काम गर्न नसकेको वताउनुभएको हो ।
नजिकिएको दशैं–तिहार, छठ, नेपाल सम्बत एबं उद्यौलीको अवशरमा नेपाल कम्यूनिष्ट पार्टी खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा वोल्दै राईले सामान्य अल्पमतको सरकारप्रति जनताको खासै चासो र अपेक्षा नदेखिए पनि दुई तिहाईको सरकारसँग वढी नै अपेक्षा पाईएको जनाउनुभयो । शक्तिशाली सरकारले जे पनि गर्न सक्छ भन्ने जनताको मानसिकता अनुरुप सरकारले काम गर्न नसकेको उहाँले वताउनुभयो । नेता तथा पूर्व सांसद राईले जनअपेक्षा अनुरुप काम गर्न नसकेको कुरामा सरकारले कुनै वहानावाजी नगरी काम गर्न नसकेको कुरा स्विकार गर्नुपर्ने धारणा राख्नुभयो । दुई तिहाई मत भएकाले वर्तमान शक्तीशाली सरकारलाई बाहना गर्ने कुनै छुट नभएको पुर्वसांसद राईको भनाई थियो ।
राईले सरकारको आलोचना मात्र समाधान नभएको उल्लेख गर्दै सवैले आ–आफ्नो ठाउँवाट पूरा गर्न सक्ने दायित्वलाई पूरा गर्नुपर्ने जनाउनुभयो । उहाँले राजनीतिमा आएको बिकृतिका कारण नेता र कर्मचारी जनताका सामु अबिश्वासको पात्र बनेको धारणा समेत राख्नुभयो । नेपालको राजनैतिक शव्दकोषबाट त्याग भन्ने शव्दावली लोप हुन लागेको जनाउँदै राईले राजनीतिलाई नैतिक, स्वार्थरहित सामाजिक उत्तरदायित्व, सामाजिक कर्तव्य र स्वार्थरहित सामाजिक सेवाका रुपमा अङ्गिकार नगरेसम्म समाजले सन्तुष्टी प्राप्त गर्न नसक्ने धारणा राख्नुभयो ।
नेकपाको पार्टी कार्यालयमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, सुरक्षा निकाय, पत्रकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।