खोटाङ २६ साउन
राष्ट्रिय मानव अधिकार आयोगले पहिरोको उच्च जोखिममा परेको खोटाङ कारागारका कैंदीबन्दीलाई सुरक्षित स्थानमा सार्न सरकारलाई पत्राचार गरेको छ ।
भारी वर्षाका कारण गत साउन–१६ गते कारागारको उत्तर–पुर्वतर्फ करिब ५० मिटर फराकिलो पहिरो गएपछि जोखिममा परेको कैंदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा सार्नकालागि आयोगले गृह–मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।
कारागारको मूख्य भवनको पेटी र जगसम्म पहिरो गएपछि चर्किएको कारागारका ९४ जना पुरुष, १४ महिला र ५ आश्रित बालबालिकाको जीवन जोखिममा परेकाले उनीहरुलाई तत्काल सुरक्षित स्थानमा सार्नकालागि सरकारलाई निर्देशन दिइएको आयोगकी सदस्य एबं प्रबक्ता मोहना अन्सारीले बिज्ञाप्तीमार्फत जानकारी दिनुभएको छ ।
पहिरोले कारागारको मूल भवन र दुई वटा सुरक्षा पोष्टको चर बगाएको, महिला कैंदी राखिएको भवनको पर्खाल चिरा–चिरा परेको, कारागारको कम्पाउण्डको केही भाग र पहिरोको दायाँबायाँ ९÷१० मिटर खण्ड लच्किएको छ । महिला कैंदीबन्दीको शौचालय र भान्छा कोठासँगै भएका कारण स्वास्थ्यमा समस्या परेको, आश्रित बालबच्चा बिरामी परेको, कैंदीबन्दीले समयमा औषधि नपाउने गरेको, कैंदीबन्दी दूषित पानी र ढुसी आएर अमिलिएको चामल खान बाध्य भएको आयोगले मंगलबार प्रकाशित गरेको बिज्ञाप्तीमा भनिएको छ ।
महिला कैंदीबन्दी राखिएको भवन चर्किएको, पुरुषवार्डको दक्षिण–पुर्वी कोठाहरुको फ्लोरवाल चिरा–चिरा परेको लगायतका समस्या देखिएपछि सुधारकालागि २०७२ साल असार–२७ गते गरेको सिफारिसका बिषयमा समेत सरकारले बेवास्ता गरेको आयोगको उपक्षेत्रीय कार्यालय खोटाङले जनाएको छ ।
तस्बिरहरु: राष्ट्रिय मानव अधिकार आयोग