खोटाङ, साउन २९ । खोटाङको पाथेका–७ दम्दीका ५० भन्दा बढि घर पहिरोको जोखिममा परेपछि नेपाली सेनाले निरिक्षण गरेको छ । पाथेका–९ र ७ को सिमानामा पर्ने हात्तिसुँढे भीरको बिशाल ढुंगासहितको ढिस्को जुनसुकै बेला बस्तीमा खस्ने खतरा बढेको जानकारी आएपछि निरिक्षण गरिएको शेरगण मुढे व्यारेक दिक्तेलका गणपति मदन न्यौपानेले बताउनुभयो । 
उद्धार गर्नुपर्ने अवस्था भए उद्धार गर्न भनेर टोली पठाइए पनि तत्कालकालागि खतरा नदेखिएको शेरगणले जनाएको छ । बि.सं. २०९० साल र २०४५ सालको भूकम्पको अशरले फाटेको भीर तत्काल झर्ने ‘थ्रेट’ नदेखिएको न्यौपानेले बताउनुभयो । 
ठूलै भूकम्प आए वा वर्षा भए मात्र पहिरो खस्ने खतरा देखिएको छ । न्यौपानेका अनुशार अर्को भूकम्प वा भारी वर्षा भए मात्र दम्दीका स्थानीयलाई अन्यत्र सार्नुपर्ने अवस्था छ । 
०९० सालमा एक फुट फाटेको भीर हाल चार मिटरभन्दा बढि फाटिसकेकाले गाउँमा पहिरो खस्ने त्रास बढेको स्थानीयको भनाई छ । पहिरो खस्ने त्रासमा वर्षा याममा स्थानीय हरेक वर्षको जेठदेखि असोजसम्म ढुक्कले निदाउन नसक्ने गरेको शिक्षक टंकबहादुर राईले बताउनुभयो । भीरबाट मानवबस्ती बाहेक लालकिरण प्रावि समेत जोखिममा परेको छ । बि.सं. १९९० सालको भूकम्पको अशरबाट चर्किएको हात्तिसुँढे भीरको धाँजा क्रमशः फाट्दै बस्तीमा खस्ने खतरा बढेको हो । पहिरोको त्रासका कारण बिगत २० वर्ष यता दम्दीमा घर नबनेको शिक्षक राईले बताउनुभयो ।