काठमाडौं २५ असोज । खोटाङकी सांसद हिरा गुरुङले कुनै एक खोटाङेलाई चोट पुग्दा सबै खोटाङेको आँखामा आशु आउनुपर्ने बताएकी छिन् ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेकी उनले खोटाङहरु एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै यस्तो विचार राखेकी हुन् । ‘कुनै एक खोटाङेको मुटुमा चोट लागे सबै खोटाङेको मुटु दुख्नुपर्छ, कुनै एक खोटाङेलाई चोट पुगे, सबै खोटाङेको आँखामा आँशु आउनुपर्छ, यसरी हामी एकतावद्ध हुन सक्यौं भने खोटाङको विकास हुनसक्छ ।’ उनले भनिन् ।
खोटाङ सेवा समाज, रावासावा प्राज्ञिक समाज नेपाल र खोटाङ हलेसी सेवा समाजको संयुक्त आयोजनामा बुधबार (२४ असोज) मा काठमाडौंमा वडा दशैं, तिहार, छठ पर्व लगायतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले सबै खोटाङेहरु एकजुट भएमा मात्र खोटाङको विकास सम्भव हुने बताइन् ।
पार्टी फरक फरक भएपनि खोटाङको विकासमा खुट्टा तान्ने प्रवृत्ति त्याग्नुपर्ने समेत उनले बताइन् । ‘हामी फरक–फरक पार्टीका हुन सक्छौं तर खोटाङेहरु जिल्लाको विकासका लागि एक जुट हुनुपर्छ, विकासको लागि खुट्टा तान्ने काम गर्न हुन्न ।’ उनले भनिन् ।
सांसद गुरुङले देश संघीयतामा गएसँगै सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको उल्लेख गर्दै कुनै पनि वडा वा  ठाउँमा कसैले गल्ती गरेमा खबरदारी गर्नुपर्नेमा जोड समेत दिइन् ।