काठमाडौं । खोटाङको दक्षिण भेगमा निर्माणमा ढिलाई हुँदै आएको दिक्तेल र उदयपुर जोड्ने फोक्सिङटारको पुल निर्माणका विषयमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा छलफल भएको छ ।
निर्वतमान सांसद बिशाल भट्टराईको पहलमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्त नेम्वाङको कार्यकक्षमा उनकै उपस्थितिमा सांसद रामकुमार राई, अर्जुन राईसहितको सर्वदलीय तथा सर्वपक्षीय खोटाङेहरुको सहभागितामा मन्त्रालयका सचिव, सडक विभागका महनिर्देशक, पुल महाशाखा प्रमुख लगायतका जिम्मेवार कर्मचारीहरु र निर्माण कम्पनी गौरी पार्वती वाइ पि जेभीका सञ्चालक रामकुमार थापाको उपस्थितिमा छलफल भएको हो ।
पुल निर्माण गर्न ढिलाई हुँदै आएपछि मन्त्रालयमा निर्माण कम्पनीलाई चाँडो बनाउन ताकेता गरिएको छ छ भने अब पनि समयमा नै बनाउन नसके ठेक्का नै खारेज गरिने भएको छ । भट्टराईले अति बिलम्ब गर्ने निर्माण व्यवसायी, जिम्मेवार उच्चपदस्थ कर्मचारीहरु, पीडित स्थानीयहरु र बिनाकारण दोष खानुपर्ने राजनीतिक नेतृत्व एकसाथ बसेर फोक्सिङटारको पुल निर्माणमा भएको बिलम्ब र धोकाबाजी बारे छलफल गरिएको बताएका छन् । छलफल पश्चात् पौष ११ गते सम्ममा आर्च ढलानको काम गर्ने सहितको कार्ययोजना निर्माण गरिएको र निर्धारित समय तालिका अनुसार काम नभएमा ठेक्का रद्ध गर्ने मन्त्री नेम्वाङले चेतावनी दिएका छन् ।