तीर्थराज भट्टराई
म पारिवारिक कामले जेठ ३ गते दिक्तेलबाट काठमाडौ गएको थिएँ । काठमाडौ पुगेको एक हप्ता बित्दा नबित्दै कोरोना भाइरसको संक्रमणले नियन्त्रणमा लिई सकेको रहेछ । श्रीमती दुई छोरासहित म महाराजगन्जस्थित डेरामा होम आइसोलेसनमा बसेको थिएँ ।
जेठ २५ गते अपरान्ह नेपाली काङ्ग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि बौद्धिक व्यक्तित्व डाक्टर राजकुमार राईले फोन गर्नुभयो । हाम्रो स्वास्थ्य अवस्था बुझिसकेपछि नेपाली काङ्ग्रेस खोटाङका पूर्व सभापति तथा वरिष्ठ साहित्यकार विष्णुकुमार राईका पिताजी अस्वस्थ हुनुभएकोले फोन गर्न सुझाउनु भयो ।
खोटाङ जिल्लामा निष्ठावान र निष्कलंकित नेताको रुपमा पहिचान बनाउनु भएकोछ विष्णुकुमार राईले । विकास निर्माण, पार्टी भित्र बाहिरका हरेक विषयमा नियमित सम्पर्क भई रहन्छ उहाँसँग । पारिवारिक , व्यवहारिक र मनको दुःख सुखको भारी बिसाउने ठाउँ भएकोले पनि होला, मैले मात्र होइन धेरै साथीहरूले उहाँलाई राजनीतिक तथा पारिवारिक अविभावक मान्ने गर्नु भएको छ । कतिपय सम्बन्ध स्वार्थ र लेनदेनको हुन्छ तर हाम्रो सम्बन्ध निस्वार्थ भावले उत्प्रेरित भएको आस्था, निष्ठा र आदर्शको छ ।
कोरोना संक्रमणले ग्रसित भएर अत्यधिक टाउको दुखाइले टेलिफोनको घण्टी आएको आवाज सुन्दा पनि रिस उठ्ने र चिढ चिढाहट जस्तो हुुने गरेकोले प्रायः जसो एक हप्ता जति मोबाइल अफ गरेर गुमनाम जस्तो भएको थिएँ । मोबाइल सेटमा आएको समस्याले गर्दा सामाजिक सञ्जालमा जोडिनु भएका साथीहरू सँग समेत डेढ महिनादेखि हराएको छु । डाक्टर राजकुमार राईले सुझाउनु भए अनुसार मैले विष्णु दाईलाई फोन गरेर बुवाको स्वास्थ्य अवस्था बुझेँ । गए रातिदेखि थोरै असहजता जस्तो भएको छ तर जिल्ला अस्पताल दिक्तेलका अनुभवी तथा अत्यन्तै सहयोगी स्वास्थ्यकर्मी भाइ सुनिल दाहालले घरमै आएर औषधी दिएपछि अहिले स्वास्थ अवस्था ठिकै रहेको बताउनुभयो ।
८९ वर्षिय वृद्ध अवस्थाका पिताजीको स्वास्थ्य नाजुक हुँदै गएकोले होला विष्णु दाइको स्वरमा मैले मलिनता, निराशाजनक र असमन्जस्यता पूर्ण वाक्यांश रहेको महशुस गरेँ । मैले उहाँसँग टेलिफोनमा बिदा मागे लगत्तै त्यही परिवारका सदस्य वरिष्ठ अधिवक्ता नारायणदास राईसँग सम्पर्क गरेँ । उहाँले काकाको स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएको बताउनुभयो । उहाँको कुराबाट म पनि आश्वस्त भएँ । अग्रज प्रजातन्त्र सेनानी डिल्लीप्रसाद काका सँग मेरो २०५८ सालदेखि राम्रो सम्बन्ध थियोे । भेटमा पार्टीको चिन्ता गरिरहनुहुन्थ्यो । हामीलाई सधैं अनुशासित र कर्तव्य निष्ठ भएर जिम्मेवारी निर्वाह गर्न प्रोत्साहित गर्नुहुन्थ्यो ।
वि. सं. १९८८ पौष १८ गते बुवा कर्णबहादुर र आमा कृष्णकुमारी राईको कोखबाट १ छोरी र ४ छोरा मध्ये साइलो छोराको रूपमा डिल्लीप्रसाद राईको जन्म भएको थियो । २५ गते साँझ ७ बजे मेरा अनन्य मित्र नेपाली काङ्ग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले हाम्रो पार्टीका अग्रज अविभावक डिल्लीप्रसाद काकाको केही समय अगाडि निधन भएको एसएमएसले मलाई मर्माहत बनायो । नेपाली जनताको मुक्तिका लागि २००७ सालको जनक्रान्तिमा सहभागी हुनुभएको अग्रज व्यक्तित्वको निधनले पार्टीलाई अपुरणीय क्षति पुग्यो नै, सँगै उहाँसँग भएको ऐतिहासिक अनुभव, ज्ञान र सिङ्गो इतिहासको अपार भण्डार समेत विलय भएको महसुस गरेको छु।
वर्तमानमा रहेको खोटाङ जिल्लाको आधा भूगोल विगतमा साप्सु खोलाले काटेको जति पूर्व ४ नं. भोजपुर जिल्ला पर्दथ्यो । ००७ सालको जनक्रान्तिमा डाक्टर भूदेव राई, पूर्व क्षेत्रका कमान्डर क्याप्टेन रामप्रसाद राई , नारदमणि थुलुङ, सहिद देवानसिं राई, वृषबहादुर राई, संग्राम राई, पर्शुराम राई, गुमानसिं राई, लक्ष्मीप्रसाद रेग्मी, तुलसीप्रसाद रेग्मी, जयबहादुर राई, आफ्नै सहोदर जेठा दाजु अशोकचन्द्र राई लगायतसँग सहकर्मी सहयोद्धाको रूपमा सहभागी हुनुभएको थियो २००७ सालको क्रान्तिमा । त्यो समयमा भोजपुर मुकाम भएकोले भोजपुरे नेतासँग जनक्रान्तिमा सहभागी भएको नाताले मात्रै होइन पारिवारिक रुपमा पनि आउ जाउ र घनिष्ट मित्रता समेत रहेको काका डिल्लीप्रसादका भानिज जर्ण चाम्लिङ बताउनुहुन्छ । निष्ठावान नेता डिल्ली काकाले हामीलाई भौतिक रुपमा छोडेर गएपनि उहाँका निष्ठा इमान्दारिता र उहाँले गर्नु भएको त्याग र योगदानहरु जहिल्यै हामी सम्झिरहनेछौं ।
हलेसी सामुदायिक रेडियो १०२.४ मेघाहर्जबाट प्रत्येक मंगलबार बिहान ७ बजेदेखि ८ बजेसम्म र साँझ ६.३० बजेदेखि ७ बजेसम्म प्रसारित हुने ‘इतिहासका जिउँदा पात्रहरु’ भन्ने लोकप्रिय कार्यक्रमका लागि मैले अन्तर्वार्ता लिनु अघि अनौपचारिक रूपमा त्यतिबेलाको सबै घटनाक्रम सुनाउनु भएको थियो । आधा घण्टाको छोटोे समयको अन्तर्वार्तामा ती ताकाका विषयलाई संक्षिप्त रुपमा बोल्नु भएको उहाँको आवाज हलेसी रेडियोको स्टुडियोमा सुरक्षित छ ।
त्यतिबेला उहाँको पुरै परिवार नै राजनीति मार्फत जनताको मुक्तिका लागि आन्दोलनमा सक्रिय थियो । उहाँको सहोदर जेठादाजु त्यो जमानामा नेपाली काङ्ग्रेसको ठूलो नेता हुनुहुन्थ्यो । माइलादाजु शुभकुमार पञ्चायतकालमा ४ पटक प्रधानपञ्च हुनुभएको थियो । तर लोकतन्त्रका पहरेदार निष्ठावान नेता डिल्लीप्रसादले भने पञ्चायती व्यवस्थाका विरुद्ध आजीवन शसक्त ढंगले आवाज उठाउनुभयो ।
स्पष्ट वक्ता, हक्की स्वभाव भएको कारणले अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्ध आजीवन लड्नुभयो भने माइला दाजु प्रधानपञ्चसँग पनि सैद्धान्तिक रुपमा सधैं असहमति राख्नुभयो । त्यो जमानामा जनतले पढ्न पाउने अवस्था थिएन तरपनि घरमै पढेर उहाँले आफुलाई साक्षर मात्र होइन निवेदन, फिरादपत्र, कानुनी प्रतिउत्तर पत्र लगायत लेख्न सक्ने क्षमता भएको व्यक्तिको रुपमा त्यो भेगमा आफ्नो पहिचान बनाउनुभएको थियोे । कालो भादगाउँले टोपी, कुर्ता पाइजामा, स्टिकोट र कपडाको जुत्ताको भेषभुषामा देखिनु हुने काका डिल्लीप्रसादसँग हमेशा कालो झोला हुन्थ्यो । झोलामा कापी कलम, एउटा टच लाइट, नङ कटर, सलाई लगायतका सामान्य आवश्क सामग्री हमेशा बोक्नुहुन्थ्यो । बिहान ४ बजेनै उठ्नु हुन्थ्यो भने केही न केही काम गरिरहने स्वभावको हुनुहुन्थ्यो ।
२०१४ सालको भद्र अबज्ञा आन्दोलन , ०३६ सालको जनमत संग्रह , २०४२ सालको सत्याग्रह र काठमाडौं चाक्सिबारीमा भएको पार्टीको सम्मेलनमा सक्रिय सहभागी हुनुभयो । प्रजातन्त्र स्थापनाका लागि लगातार १८ वर्ष जेल जीवन बिताउनु भएका काका धनवर्ण राई खोटाङ काङ्ग्रेसको सभापति हुँदा काका डिल्लीप्रसाद जिल्ला सदस्य भएर पार्टीको काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ आफुले मात्रै सामाजिक काम गर्नु भएन , आफ्ना भाइ–भतिजा र सन्तानलाई समेत सामाजिक काममा लाग्न उत्प्रेरित गर्नुभयो । ३ श्रीमती जनककुमारी, देउमाया र जयन्तीबाट ३ छोरा विष्णु कुमार, लक्ष्मीकुमार र हेमन तथा १ छोरी यशोदा राईको जन्म भयो ।
जेठो छोरा विष्णुकुमार राई जिल्ला विकास समिति तथा नेपाली काङ्ग्रेस खोटाङको पूर्व सभापति भई सक्नुभएको छ । नेपाली काङ्ग्रेसको मात्र होइन हाल खोटाङमा क्रियाशील राजनीतिक दलको सर्वस्वीकार्य नेताको रुपमा प्रतिस्थापित हुनुभएको छ । साहित्यिक फाँटमा खोटाङमा मात्र होइन राष्ट्रिय स्तरमा नै वरिष्ठ साहित्यकारको नाममा चिरपरिचित नाम हो विष्णु आभुषण । आभुषण जस्तो सरल, शालीन र निष्कलंकित छोरो जन्माएर आफ्नु कुल वंशमा मात्र होइन समाजलाई नै ठूलो गुन लगाउनु भएको छ प्रजातन्त्र सेनानी डिल्लीप्रसाद राईले ।
माइला छोरा लक्ष्मीप्रसाद पनि सक्रिय राजनीतिबाट समाज परिवर्तन गराउन दत्तचित्त हुनुहुन्छ । कम्युनिस्ट दर्शनबाट मात्रै समाजलाई आत्मनिर्भर र समुन्नत समाज बनाउन सकिन्छ भन्ने मान्यता बोकेर नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य भई आफ्नो जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । कान्छा छोरा हेमन पनि बुबा , बाजे , दाजुभाइ र आफन्तको राजनीतिक संस्कारमा समाहित हुँदै सामाजिक क्षेत्रमा आफुलाई अगाडि बढाई रहनु भएको छ । छोरी यशोदामा पनि राजनीतिक चेतनाको दीयो बलि सकेको हुँदा भविष्यमा पुर्खाको संस्कार भन्दा टाढा बस्नु हुने छैन भन्ने विश्वास लिईएको छ ।
२०६९ सालमा नेपाली काङ्ग्रेसका तत्कालीन पार्टी सभापति आदरणीय सुशीला कोईरालाबाट प्रजातन्त्र सेनानीको रुपमा सम्मानित काका डिल्ली प्रसादले नेपाली काङ्ग्रेस मार्फत समाज परिवर्तनको लागि पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
आफु भन्दा अग्रजको सम्मान गर्ने संस्कृतिको अन्त्य गर्दै राजनीतिलाई कमाई खाने भाँडो बनाउने वर्तमान संस्कृतिको अन्त्य गर्दै अग्रजको सम्मान, पार्टी प्रतिको निष्ठा, त्याग, समर्पण र कर्तब्य निष्ठ व्यक्ति आफु पनि बन्ने र अरूलाई बनाउने संस्कृति को निर्माण गर्न सक्यौं भने मात्रै नेपाली काङ्ग्रेसका नेता प्रजातन्त्र सेनानी काका डिल्लीप्रसाद राई प्रति सच्चा श्रद्धाञ्जली हुने र उहाँको आत्माले शान्ति पाउने छ अतः हामी सबैले उहाँको राजनीतिक चिन्तन र दर्शनलाई आत्मा साथ गर्न सक्यौं भने मात्र सच्चा अनुयायी हुनेछौँ । जय नेपाल ।
(स्तम्भकार नेपाली काङ्ग्रेस खोटाङ क्षेत्र नं.२ का क्षेत्रीय सभापति हुन्)